भोलिबाट नयाँ नोट !
काठमाडौं । आउँदो दशैंका लागि भोलिबाट नयाँ नोट साट्न पाइने भएको छ । यसका लागि राष्ट्र बैंकले काठमाडौं उपत्यकाभित्र विभिन्न बाणिज्य बैंकलाई जिम्मा दिइएको बताएको छ । अब भोलिबाट ती बाणिज्य बैंकको तोकिएको शाखामा पुगेर नोट साट्न पाइने छ ।
बाणिज्य बैंकहरुले नोट सटही गर्ने काउण्टरहरुको सूची भने बनिनसकेको राष्ट्र बैंकले जनाएको छ । काठमाडौं उपत्यका बाहिरका लागि भने राष्ट्र बैंककै प्रादेशिक कार्यालयहरुबाट पनि नोट सटहीको सुविधा पाउन सकिने छ । साथै बाणिज्य बैंकहरुले पनि राजधानी शहर बाहिरका क्षेत्रमा रहेका आफ्ना निश्चित शाखा कार्यलयबाट नोट सटहीको सुविधा दिने छन् ।
यो वर्ष राष्ट्र बैंकले नयाँँ नोट नै सटही दिने भनेको छ । गत वर्ष भने नयाँ र सुकिला (२–४ पटक प्रयोग भइसकेका) नोट वितरण गरिएको थियो । गत वर्षदेखि कोरोना महामारीको कारण देखाउँदै राष्ट्र बैंकले थापाथलिस्थित कार्यालयबाट सर्वसाधारणलाई नोट सटहीको सुविधा दिन छाडेको छ । यो वर्ष पनि राष्ट्र बैंकले काठमाडौंका कुनै पनि कार्यालयबाट नोट सटहीको सुविधा नदिने बताएको छ ।
अघिल्ला वर्षमा २० र १० रुपैयाँको नोट आंसिक रुपमा अभाव हुने गरेको थियो । यो वर्षभने त्यस्तो समस्या नहुने राष्ट्र बैंकले बताएको छ ।
















