शुरु भयो महान चाड दशैं, घटस्थापनाको साइत बिहान ११ः४६ बजे, विजया दशमीको कति बजे ?
काठमाडौं । नेपालीहरुको महान चाड आजदेखि शुरु भएको छ । दशैंको पहिलो दिन आज घर–घरमा घटस्थापनाको दिन रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले घटस्थापनाको उत्तम साइत आज बिहान ११ः४६ मिनेटमा रहेको जनाएको छ । घटस्थापना गर्दा पूजाकोठा वा दशैंघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।
नवरात्रको पहिलो दिन आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो ठाउँबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैंघरमा जौ रोपिन्छ । जौको पहेंलो अंकुरण अर्थात् जमरा दुर्गा देवीको प्रिय वस्तु भएकाले त्यसलाई विजयादशमीको दिन टीका–प्रसादसितै ग्रहण गरिन्छ । पहेंलो जमरालाई समृद्धिको प्रतीक पनि मानिन्छ । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ः४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्ने छ ।
असोज २२ गते शुक्रबार झन्डा फेर्ने साइत ११ः५६ बजे रहेको छ । पश्चिम फर्केर झन्डा फेर्नुपर्ने छ । असोज २५ गते सोमबार पचली भैरवको यात्रा रहेको छ । असोज २६ गते मंगलबार फूलपाती परेको छ । फूलपाती बेलुकीको समयमा गरिने र यसको साइत आवश्यक नपर्ने समितिले जनाएको छ ।
फूलपातीकै दिन तुलजा भवानीलाई मूल मन्दिरबाट हनुमानढोकाको मूल चोकमा यात्रा गराइन्छ । मूलचोकमै भवानीलाई साक्षी राखेर महाअष्टमीका दिन राति कालरात्रि पूजासहित राज्यकोतर्फबाट बोका र राँगाको बलि दिइन्छ । तुलजा भवानी यात्राको साइत बिहान ७ः११ बजे रहेको छ । तुलजा भवानीलाई बिहान ८ः४४ बजे स्थिरासन गराइन्छ । असोज २७ गते बुधबार महाअष्टमी, त्यसै राति कालरात्रिको पूजा गर्नुपर्ने समितिले जनाएको छ ।
असोज २८ गते बिहीबार महानवमी पर्व मनाइन्छ । घटस्थापनाका दिनदेखि पूजा आराधना गरिने देवीलाई बिहान ८ः१९ बजे विसर्जन गरिने साइत छ । विजया दशमीका दिन बिहान ७ः०१ बजे तुलजा भवानीलाई मूल चोकबाट मूल मन्दिरमा फिर्ती यात्रा गराइने साइत छ । तुलजा भवानीलाई बिहान ८ः३२ बजे स्थिरासन गराइने साइत पनि समितिले निकालेको छ । खड्गयात्रा पनि यसै दिन गरिनेछ ।
समितिले असोज २९ गते शुक्रबार विजया दशमी पर्वको दिन बिहान १० बजेर २ मिनेटमा टीकाको साइत परेको जानकारी दिएको छ । समितिका अनुसार टीका लगाउने मानिस पूर्व फर्कनुपर्नेछ भने टीका लगाइमाग्ने मानिस पश्चिम फर्किनुपर्नेछ । त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ ।













