२४ भदौ २०८३, बुधबार

दशैंमा माटोका मूर्ति मालामाल, कति छ मूर्तिका अर्थतन्त्र ?



काठमाडौं । दशैंका लागि दुर्गा भवानीको मूर्ति बनाउन तराईका कालिगढहरुलाई भ्याई नभ्याई हुन थालेको छ । बिजयादशमीमा दुर्गा भगवतीसहित बिभिन्न देवी देवताको माटोका मूर्तिहरु बनाएर पूजा गर्ने प्रचलन छ । यसका लागि कालिगढहरु एक महिना अघिदेखि मूर्ति बनाउन व्यस्त छन् । अहिले मूर्ति बनाउने काम अन्तिम चरणमा पुगेको मूर्तिकारहरु बताउँछन् ।

फूलपातीकै दिनबाट यस्ता मूर्तिको पूजा गर्ने र कतिपय स्थानमा भगवतीको रथयात्रा समेत गर्ने चलन छ । यही कारण अहिले काठमाडौं उपत्यका र तराईका कयौं स्थानमा मूर्ति बनाउने र ठूला पूजा कोठीहरु तयार पार्ने काम भइरहेको छ । अहिले मूर्तिकारहरु मूर्तिको सजावट तथा रंगरोगनमा गरिरहेका छन् । कतिपय स्थानमा भगवतीको मूर्ति राख्ने व्यवस्था हुन थालेको छ ।

गत वर्षको तुलनामा यो बर्ष कोरोना भाइरस महामारीको प्रभाव निकै कम भए पनि कोभीड अघिका वर्षमा जस्ता मूर्तिको माग भने अहिले नरहेको कपिलवस्तुका कालिगढ अनिल गुप्ता बताउँछन् । कालिगढहरुका अनुसार यस्ता माटोका मूर्तिहरु प्रतिगोटा १० हजार देखि ५० हजार रुपैयाँसम्म पर्छ ।

यस्ता मूर्तिहरु पराल र माटोबाट निर्माण गरिन्छ । अग्ला मूर्तिको शरीर थाम्नका लागि कतिपयले कटबाँस वा काठका डण्डीहरु पनि प्रयोग गर्छन् । धेरैजसो मूर्तिहरु तयार भएर पनि प्रदर्शनमा राखिसकियो भने कतिपय अझै बन्दै छन् ।

दुर्गा, गणेश, लक्ष्मी, कार्तिकेय, राक्षस र बाघ तथा भैंसी लगायतका मूर्तिहरु दशैंको बेलामा प्रयोग हुन्छन् । अधिकांश स्थानमा कालिगढहरुले मूर्ति बनाउन चाहिने औजार र सजावटका सामग्री भारतबाट ल्याउने गरेका छन् । कतै घटस्थापना र कतै सप्तमी (फूलपाती)का दिनदेखि मूर्ति प्रदर्शन गर्ने चलन छ ।

तराई क्षेत्रमा धेरै स्थानमा यस्ता मूर्तिका यात्रा निकालिने भएकाले नेपालीमात्र होइन, भारतीय मूर्तिकारहरु समेत अहिले नेपालमा आएर यस्ता मूर्ति बनाइरेका छन् । नेपालभर यस्ता मूर्तिहरु कुन संख्यामा बन्छन् भन्ने औपचारिक जानकारी नहुँदा यस्ता मूर्तिका कारण सिर्जना हुने अर्थतन्त्रको आँकलगा गर्न भने कठीन पर्ने कालिगढहरु बताउँछन् ।