२२ कार्तिक २०८३, आइतबार

बुधबारदेखि सिंगापुर जान पाइने, हट्यो भ्रमण प्रतिबन्ध



काठमाडौं । आगामी बुधबारदेखि नेपालीहरु यहाँबाट सिंगापुर भ्रमणमा जान पाउने भएका छन् । सिंगापुरले नेपालसहित एसियाका ५ मुलुकलाई भ्रमण प्रतिबन्धबाट हटाएसँगै यो अवसर खुलेको हो । यसअघि सिंगापुरले नेपालसहित कतिपय मुलुकबाट आएका मानिसहरुलाई आफ्नो देशमा प्रवेश गर्न नपाउने व्यवस्था गरेको थियो ।

कोरोना भाइरस महामारीको प्रकोप बढ्दै जाँदा लगाइएको उक्त प्रतिबन्ध अहिले महामारी साम्य हुँदै गएको र खोप लगाउने नागरिकको संख्या पनि उल्लेख्य बढेका कारण हटाइएको हो । नेपालसहित भारत, बंगलादेश, बर्मा, पाकिस्तान र श्रीलंकाबाट आउने यात्रुका लागि लगाइएको प्रतिबन्ध सिंगापुरले हटाइदिएको हो ।

अब पनि सिंगापुर भ्रमणका लागि वा सिंगापुर ट्राञ्जिट भएर जानका लागि यात्रुले आफ्नो पछिल्लो १४ दिनको ‘ट्राभल हिस्ट्री’ देखाउनु पर्ने छ ।