तिहरमा घरजाने सबैलाई काठमाडौंका चारै नाकामा कोरोनाको खोप
काठमाडौं । तिहारमा काठमाडौं उपत्यकाबाट बाहिर जाने यात्रुलाई कोभिड–१९ विरुद्धको खोप लगाउन थालिएको छ । उपत्यकाबाट बाहिर जाँदा रोगको प्रकोप नसरोस भनेर सरकारले यस्तो अभियान चालेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज बिहानदेखि काठमाडौंका चार स्थानमा खोप लगाउन थालेको जानकारी दिएको छ । काठमाडौंको गोंगबु बसपार्क, कोटेश्वर चोक, बल्खु चोक र कलंकी चोकमा खोप लगाउने व्यवस्था गरिएको छ । उपत्यका छाड्नेहरुले यी कुनै पनि स्थानमा गएर खोप लगाउन सक्ने छन् ।
तिहार मनाउन काठमाडौंबाट घर जाने यात्रुलाई लक्ष्य गरेर खोप लगाउने व्यवस्था गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । घर जान लागेका यात्र्लाई आफ्नो नाम, ठेगाना र उमेर खुल्ने परिचयपत्र बोकेर खोप लगाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ ।
चारै ठाउँमा आज बिहान ७ः३० बजेदेखि खोप लगाउन थालिएको छ । दिउँसो ४ बजेसम्म खोप अभियान सञ्चालन हुने छ । दुई दिने खोप अभियान अन्तर्गत भोलि पनि चारै स्थानमा खोप लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस अभियानमा १८ वर्षभन्दा माथिका सबैले खोप लगाउन पाउनेछन् ।














