गाउँमा नै च्याउखेती गरेर मनग्ये आम्दानी गर्दै रसुवाकी चन्द्रकुमारी - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

गाउँमा नै च्याउखेती गरेर मनग्ये आम्दानी गर्दै रसुवाकी चन्द्रकुमारी



रसुवा । कृषि पेसालाई आम्दानीको स्रोत बनाई आय–आर्जन गरिरहनुभएको कालिका गाउँपालिका वडा नम्बर– ३ कटुन्जेकी चन्द्रकुमारी न्यौपानेले गाउँमा नै च्याउखेती गरेर आत्मनिर्भर बनेकी छिन् । उनले मनकामना च्याउ तथा फलफूल उद्योग ०७४ सालमा स्थानीय तह र घरेलुमा व्यवसाय दर्ता गरेर काम सुरु गरेका थिए ।

उद्योग पासाङल्हामु राजमार्गनजिक रहेको र च्याउको गुणस्तर राम्रो भएकै कारण बजार समस्या उनले भोग्नुपरेको छैन । उनको परिवारले काठमाडौंमा च्याउखेतीबारे सीप सिकेर ०६२ सालमा बलम्बुमा च्याउखेती गरेर बस्न थालेपछि त्यसको एक वर्षपछि थप जग्गा भाडामा लिएर च्याउखेती गर्न थालेका हुन् । व्यवसायबाट छोराछोरीलाई निजी स्कुल र कलेजसमेत पढाउन सक्षम भएकी न्यौपाने काठमाडौंमा दश वर्ष गोब्रे च्याउखेती गरेर बसेकी थिइन् । ०७२ सालको भूकम्पले उनको परिवार र उद्योगलाई विस्थापन ग¥यो । त्यहीँ सालको मङ्सिरमा कटुन्जेमा फर्केर आफ्नै जग्गामा परालको टनेल हालेर च्याउखेतीको सुरुवात गरेकी थिइन् । न्यौपानेले वर्षमा तीनपटक मात्र च्याउखेती हुने भएर नै मिहिनेतका साथ पराललाई काटेर टुक्रा गरी सफा पानीले पखालेर उसिनेर सेलाएपछि प्लास्टिकको पोको पारेर त्यसमा च्याउको बिउ राखेर पोकालाई अँध्यारो कोठामा राखेपछि करिब एक महिनापछि खान हुने च्याउ निस्किन्छ ।

श्रीमान्को साथ सहयोगको कारण नै सफलता हो भन्न रुचाउने उहाँ आज सफल कृषकको रूपमा परिचित भएकी न्यौपानेले च्याउ प्रतिकिलो दुई सयको दरले गाउँघर, स्थानीय बजारमा बिक्री गरिरहेकी छिन् । अहिले उहाँको च्याउखेती गर्ने तीनवटा टनेल रहेको छ । अहिले तीन टनेलबाट पाँच सय ९० पोका च्याउ उत्पादन भइरहेको छ । च्याउ मङ्सिर, पुस, माघमा सकिने बेला हो भने फागुन लागेपछि फेरि च्याउ उमार्न सुरु गरिन्छ । च्याउखेतीबाटै सरदर मासिक एक लाख र कहिले वार्षिक चार लाख आम्दानी हुने गरेको बताउने न्यौपानेको जीवन गुजारा सजिलै चलिरहेको छ ।

उहाँको च्याउको ब्यापार लकडाउनमा समेत राम्रो भएको रहेछ । यसै वर्ष सितके च्याउखेतीबारे तालिम लिएपछि लगानी गर्न सके सिताके च्याउ उत्पादन गर्ने उहाँको सोच रहेको छ । यसै च्याउखेतीबाट गाउँमै सफल महिला उद्यमी बनेकी न्यौपाने सफल च्याउखेती कृषिको रूपमा स्थापित भइरहेकी छिन् । तरकारी र फलफूलले भन्दा पनि च्याउखेतीबाट बढी आम्दानी भएको उनले बताइन् ।


प्रतिक्रिया दिनुहोस्