इन्भेष्टमेन्ट बैंकको साधारण सभा आज हुँदै, १६ प्रतिशत लाभांश पारित गर्ने
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको साधारण सभा आज (मंसिर १७ गते, शुक्रबार) हुँदैछ । कात्तिक २३ गते बसेको संचालक समितिको बैठकले बैंकको ३५ औं साधारण सभा मंसिर १७ गते बैंकको केन्द्रिय कार्यालय दरबारमार्ग काठमाडौंमा बोलाएको थियो । बैंकको वार्षिक साधारण सभा बिहान १० बजेदेखि शुरु हुनेछ ।
बैंकको सभाले हाल कायम चुक्ता पुँजीको १२.६११ प्रतिशत बोनश शेयर र कर प्रयोजनार्थ ३.३८९ प्रतिशत नगद गरि कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।
त्यस्तै, आर्थिक वर्ष २०७७–०७८ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आसार मसान्तसम्मको वासलात, तथा आव २०७७–७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण उपर छलफल गरी पारित गर्ने, बैंकको सहायक कम्पनी एनआइविएल एस क्यापिटल आव २०७७–०७८ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण स्वीकृत गर्नेछ ।
त्यस्तै, कम्पनी ऐन, २०६३ को दफा १११ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ को दफा ६३ अनुसार आर्थिक वर्ष २०७८–७९ को लेखापरीक्षण गर्न लेखापरीक्षण समितिको सिफारिश मुताबिक लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तथा नियुक्ति गर्ने र संस्थापक शेयरधनीहरुको तर्फबाट ४ चार जना सञ्चालकहरुको निर्वाचन गरि नियुक्त गर्नेछ ।
त्यस्तै, प्रबन्धपत्रको दफा ५ (क) मा संशोधन गरी बैंकको अधिकृत पूजी वृद्धि गरी १८ अर्ब ५० करोड रुपैयाँ पुर्याउने, बैकले अन्य कुनै बैंक वा वित्तीय संस्था प्राप्ति गर्ने वा एकआपसमा गाभिने प्रयोजनको लागि उपयुक्त बैंक वा वित्तीय संस्थाको पहिचान र छनौट गर्ने, समझदारीपत्रमा हस्ताक्षर गर्ने, सोको आधारमा सैद्धान्तिक स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिनेछ ।












