नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंक मर्जरका लागि एक महिना समय थप्न पुनः निवेदन
काठमाडौं । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जरका लागि तोकिएको समय सकिएको छ । नेपाल राष्ट्र बैंकले दुबै बैंकलाई मर्जर बारे अन्तिम निर्णय गर्न आइतबारसम्म समय दिएको थियो । तर उक्त समय समाप्त भएपछि दुबै बैंकले थप समय माग गरेका छन् । नेपाल राष्ट्र बैंकले तोकेको समयमा मर्जरको निर्णय गर्न नसकेपछि नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकले समय थप्न माग राष्ट्र बैंकमा पत्र पठाएका हुन् ।
मर्जरको प्रारम्भिक सहमति गरी गत वैशाख ३० गते नै राष्ट्र बैंक पुगेका हिमालयन र इन्भेष्टमेण्ट बैंकले जेठ २० गते नै सैद्धान्तिक स्वीकृत पाएका थिए । मर्जर नीतिअनुसार राष्ट्र बैंकले सैद्धान्तिक स्वीकृत दिएको ३ महिनाभित्रै एकीकृत कारोबारका लागि अन्तिम स्वीकृत लिनु पर्ने हुन्छ । तर एकीकृत कारोबारको लागी दुबै बैंकबीच सहमति हुन नसकेपछि पुन समय थप गर्न राष्ट्र बैंकसँग माग गरेका हुन् ।
सैद्धान्तिक स्वीकृत दिएको ३ महिनासम्म प्रक्रिया पुरा गर्न नसकेको भन्दै अन्तिम मौका दिन राष्ट्र बैंकमा आग्रह गरेपछि गत असोज १९ गते ३ महिनाका लागि समय थप गरेको थियो । तर उक्त समय समाप्त भएपनि दुबै बैंकबीच मर्ज हुने कुनै सुरसार देखिदैन ।
दुई बैंक बीच मर्जर प्रक्रिया पुरा गरेर एकीकृत कारोबार थाल्न राष्ट्र बैंकले दोस्रो पटक दिएको म्याद पनि सकिएको हो । पछिल्लो समय हिमालयन बैंकमा अध्यक्ष परिवर्तन भएपछि मर्जर अन्योलमा परेको हो ।
एक महिनाको लागि समय थप गर्न माग गर्दै राष्ट्र बैंकमा निवेदन पठाएको छ । यदि राष्ट्र बैंकले पुन स्वीकृति दियो भने दुबै बैंकबीच एक महिनाभित्रमा मर्ज हुनुपर्नेछ । राष्ट्र बैंकले दोस्रो पटक तीन महिनाको समय दिईएकोमा मर्जरलाई मूर्त रुप दिन मनासीव कारण र आधारहरु पेश गरे मात्र आवश्यकता हेरी समय थप गरिने राष्ट्र बैंकले बताएको छ ।












