सबै कुरा मिलिसक्दा पनि अघि नबढेको हिमालयन र इन्भेष्टमेण्टको मर्जर, के हुन् पछाडिका कारण ? « Arthapath.com
१२ मंसिर २०७८, आईतवार

सबै कुरा मिलिसक्दा पनि अघि नबढेको हिमालयन र इन्भेष्टमेण्टको मर्जर, के हुन् पछाडिका कारण ?



यी बैंकहरु अन्तिम अवस्थामा पुगेर मर्जरबाट भाँडिए भने चाहीँ राष्ट्र बैंकले चालेको ‘बीग मर्जर’को उत्प्रेरणात्मक कदम नै कमजोर हुन सक्छ ।

काठमाडौं । मर्जरको पुर्व तयारीका लगभग सबै कुरा मिलिसकेको भए पनि हिमालयन र नेपाल इन्भेष्टमेण्ट बैंकको मर्जर प्रक्रिया बीचैमा रोकिएको छ । मर्जरपछि बन्ने बैंकको नाम, लोगो, सञ्चालक समिति, प्रमुख कार्यकारी अधिकृत, कोर बैंकिङ प्रणालीदेखि कर्मचारी मिलानका शर्तसम्म सबै सहमति भइसकेको छ ।

तै पनि करीब एक महिनायता मर्जर प्रक्रिया अवरुद्ध भएको छ । दुई बैंक बीच मर्जर प्रक्रिया पुरा गरेर एकीकृत कारोबार थाल्न राष्ट्र बैंकले दोस्रो पटक दिएको म्याद पनि यही २० मंसिरमा पुरा हुँदै छ । तर म्याद सकिनु दुई साताअघिसम्म आउँदा यी बैंकको मर्जर प्रक्रिया अन्यौलमा पर्न थालेको छ ।

यी दुई पुराना र बलिया बैंक आपसमा गाभिए भने ठूला बैंकहरुको गठबन्धनले कस्तो नतिजा निकाल्दो रहेछ भन्ने स्पष्ट हुन्थ्यो । त्यही कारण यसअघि दर्जनौं संस्थाहरु आपसमा गाभिसकेको भए पनि यी दुई बैंकको मर्जरलाई सिंगो बजारले चासोपूर्ण रुपमा नियालि रहेको छ । यी बैंकहरु अन्तिम अवस्थामा पुगेर मर्जरबाट भाँडिए भने चाहीँ राष्ट्र बैंकले चालेको ‘बीग मर्जर’को उत्प्रेरणात्मक कदम नै कमजोर हुन सक्छ ।

पछिल्लो समय हिमालयन बैंकमा अध्यक्ष परिवर्तन भएपछि मर्जर अन्योलमा परेको हो । यस घटनाको सिधा असर सरकार परिवर्तनसँग जोडिएको छ । हिमालयन बैंकको एक प्रमुख शेयर धनी कर्मचारी सञ्चय कोष हो । यसअघि केपी ओली नेतृत्वको सरकार हुँदा कोषको प्रशासकीय प्रमुख रहेका तुलसीप्रसाद गौतम हिमालयन बैंकको अध्यक्ष चुनिएका थिए ।

तर सरकार परिवर्तन भएसँगै कोषको तालुकदार निकाय अर्थ मन्त्रालय माओवादीको भागमा पर्यो । अर्थमन्त्री जनार्दन शर्माले कोषका तत्कालिन प्रशासकीय प्रमुख तुलसिप्रसाद गौतमलाई हटाइदिए । त्यसपछि हिमालयन बैंकमा कोषले नयाँ सञ्चालक पठायो । गौतमको अध्यक्ष पद स्वभाविक रुपमा खालि भए पछि हिमालय बैंकको बोर्डले प्रचण्डबहादुर श्रेष्ठलाई बैंकको अध्यक्ष बनायो ।

हिमालयनका अन्य मुख्य लगानी कर्ता हिमालयशम्शेर जबरा र पीपी खेतान लगायतमात्र होइन, दुबै बैंकमा ठूलो लगानी गरेर बसेका चीनि तथा होटेल व्यवसायी शशिकान्त अग्रवाल पनि दुई बैंकको मर्ज गराउने पक्षमा थिए । सुरुमा मनोजबहादुर श्रेष्ठ यसको विरुद्ध देखिए र उनले आफ्ना नजिकका कर्मचारीलाई उचालेर मर्जरको विरोध गर्न लगाए । यो देखेका अरु प्रबद्र्धकहरु मनोजकै भाइ प्रचण्डलाई अध्यक्ष बनाउन राजि भए । ‘प्रचण्डको स्वभाव मनोजभन्दा ठीक उल्टो थियो । उनी मर्जरको पक्षमा पनि देखिन्थे’, एक सञ्चालक भन्छन्, ‘तर अध्यक्ष बनेपछि उनी दाइले खनेकै बाटोमा हिँड्न थाले ।’

मनोजबहादुरले हिमालयन छाडेर नेपाल इन्भेष्टमेण्ट बैंक किन्न हिँगेका पृथ्वीबहादुर पाँडेको शेयर पनि किनेका थिए । त्यसैले उनी हिमालयनमा ठूलो हिस्सेदारी लिएका लगानीकर्ता हुन् । यसअघि करिव २० वर्ष उनी बैंकको अध्यक्ष पनि थिए । हिमालयनमा लामो समयदेखि राणा र श्रेष्ठको दुई गुट बनिरहेको छ र यिनीहरुबीच टकराव भइरहन्छ । त्यसैले वर्षैंसम्म वार्षिक साधारण सभा समेत गर्न नसकेको हिमालयनले गत वर्षमात्रै साधारण सभा गरेको थियो ।

नेपाल इन्भेष्टमेण्टसँग गाभिएपछि श्रेष्ठको परिवार अल्पमतमा पर्छ । मर्जरपछि इन्भेष्टमेण्टका हालका अध्यक्ष पाँडे नै अध्यक्ष बन्ने र हिमालयनका सीईओ अशोक राणा नयाँ मर्जरपछि सीईओ बन्ने तय भएको छ । तर, यी दुई जना नाताले साला–भिना हुन् । नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शम्शेरका छोरा अशोक हुन् भने पाँडे उनका ज्वाइँ । यसरी राणा र पाँडेको परिवारले बैंक चलाउने भएपछि आफ्नो अस्तित्व सकिन्छ भन्ने त्रासमा मनोजबहादुर अहिले जसरी पनि मर्जर भाँड्ने योजनामा छन् ।

माओवादी पार्टीसँग मनोजबहादुरको निकै राम्रो सम्बन्ध छ । स्रोतका अनुसार माओवादी अध्यक्ष प्रचण्डको आग्रहमा उनैले ४ करोड रुपैयाँ दिएपछि ‘नयाँ पत्रिका दैनिक’का सम्पादक कृष्णज्वाला देवकोटाले ‘दी न्यू पेपर’ नाममा अंग्रेजी दैनिक चलाएका थिए । पछि मनोजले दिएको पैसा सकियो र पत्रिका पनि बन्द भयो । यस्तै मनोजबाट माओवादीले थुप्रै आर्थिक लाभ लिइरहेको उनका निकटवर्ती स्रोत बताउँछन् । त्यही गुन तिर्न अहिले प्रचण्ड र उनको विश्वसपात्र रहेका अर्थमन्त्री शर्माले यी दुई बैंकको मर्जर भाँड्न सघाइरहेको एक सञ्चालक बताउँछन् ।

इन्भेष्टमेण्ट बैंकको पक्ष भने कुनै पनि बेला एकीकृत कारोबार शुरु गर्न आफूहरु तयार रहेको बताउँछ । यो मर्जरबाट इन्भेष्टमेण्टलाई केही लाभ पनि छ । सहमति भएअनुसार इन्भेष्टमेण्ट बैंकका अधिकांश कर्मचारीको तलव आगामी ४ वर्षसम्म निरन्तर बढ्ने छ । यो बैंकको सञ्चालक समिति अध्यक्षले नै मर्जरपछि अध्यक्षता गर्ने छन् । बैंकका सीईओ ज्योतिप्रकाश पाण्डे मर्जरपछि अशोक राणाको डेपुटी सीईओ रहने छन् । हिमालयनमा भने श्रेष्ठ दाजुभाइले यही कुरालाई देखाएर अरु पक्ष र कर्मचारी भड्काइरहेका छन् ।

सम्पत्ती र दायित्व मूल्यांकनमा इन्भेष्टमेण्टभन्दा हिमालयन केही बलियो देखिएको छ । इन्भेष्टमेण्टको पूँजी बढी भएकाले प्रतिशेयर नेटवर्थ हिमालयनको तुलनामा ५ रुपैयाँसम्म कम हुनसक्ने स्रोतको आँकलन छ । यी दुई बैंकबीच मर्जर प्रक्रिया थाल्नु अघि नै १० रुपैयाँसम्म जसको नेटवर्थ बढी भए पनि समान हैसियत (१ः१ अनुपातको स्वाप रेसियो)मा मर्जरमा जाने समझदारी भएको थियो । त्यसका बाबजुत अपेक्षा गरेभन्दा विपरित हिमालयनको नेटवर्थ बलियो देखेपछि श्रेष्ठलाई आगोमा घ्यू हाल्न सजिलो भएको छ ।

मनोजबहादुर र प्रचण्डबहादुरले आफ्नोभन्दा कम नेटवर्थ भएको बैंकसँगम मर्जरमा जानुपर्ने र सबै फाइदा चाहीँ इन्भेष्टमेण्ट पक्षले पाउने भन्दै शेयरधनी र कर्मचारीलाई उचालिरहेको स्रोत बताउँछ । यही कारण कहिले लाभ र हानीको हिसाब देखाउने, कहिले अर्को बैंक पनि एकसाथ मर्ज गर्नुपर्छ भन्ने त कहिले कर्मचारीको बखेडा झिकेर मर्जर भाँड्ने प्रयास भइरहेको हिमालयन बैंककै स्रोतले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्