१९ भदौ २०८३, शुक्रबार

नेपाल राष्ट्र बैंकले साढे ६ लाख रुपैयाँका सेकेन्ड ह्यान्ड सामाग्री बिक्री गर्दै



काठमाडौं । नेपाल राष्ट्र बैंकले पुराना तथा आफूलाई काम नलाग्ने इलेक्ट्रिक सामाग्री, कम्युटर, ल्यापटपसहित ६ लाख ६३ हजार रुपैयाँ बराबरको सेकेन्ड ह्यान्ड सामाग्री बिक्री गर्ने भएको छ । बैंकले एक सूचाना जारी गरी केन्द्रीय कार्यालय बालुवाटारमा रहेका पुराना काम नलाग्ने सम्पति तथा फुटकर फर्निचर सामानहरु जे जस्तो अवस्थामा छन् सोही अवस्थामा लिलाम बिक्री गर्ने जनाएको हो ।

पुराना अफिस इक्विपमेन्ट, कम्युटर, ल्यापटप, प्रिन्टर, फोटोकपि मेसिन, टिभी, प्रोजेक्टर, एसी लायत फर्निचहरु टेबल, कुर्सी, सोफासेट र र्याक, फुटकर ब्याट्री तथा युपिएस, तामाको तार आदि बेच्ने बताएको हो ।

इच्छुक खरिदकर्ताले सूचना जारी भएको मितिले १५ दिनभित्रमा न्यूनतम ६ लाख ६३ हजार ५२३ रुपैयाँ ५७ पैसामा खरिद बोलपत्र हाल्न बैंकले आह्वान गरेको छ । तर, सार्वजनिक बोलकबोल गर्ने खरिदकर्ताले कबोल गर्दा कुल खरिद रकमको न्यूनतम ५ प्रतिशत रकम पहिले नै दरखास्तसँगै धरौटी बुझाउनुपर्ने बैंकले जनाएको छ ।

आगामी पुस ५ गते दिनको १ बजे अन्तिम खरिदकर्ताको टुंगो लगाउने बैंकले जनाएको छ ।