बेलायतमा ‘ओमिक्रोन आपतकाल’ घोषणा
काठमाडौं । ओमिक्रोनको व्यापक लहर आउन लागेको भन्दै बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आपतकाल घोषणा गरेको छ । जोनसनले नयाँ ओमिक्रोनको संक्रमण व्यापक रुपमा बढ्न थालेपछि बेलायतमा आपतकाल घोषणा गरेको बीबीसीले जनाएको हो ।
उनले भने,‘ओमिक्रोनको भीषण लहर आउने कुरामा कसैले पनि शंका गर्नु हुँदैन’, नयाँ भेरियन्टविरुद्धको लडाइँमा हामीले एउटा आपतकाल सामना गरिरहेका छौं ।’
ओमिक्रोन भेरियन्ट तीब्र रुपमा फैलिएसँगै बेलायतमा कोभिड सतर्कता बढाएर चार तहमा पु¥याइएको केही घण्टापछि नै जोनसनले ‘ओमिक्रोन आपतकाल’ घोषणा गरेका हुन् ।
उनले यसै हप्तादेखि १८ माथिका सबै व्यक्तिलाई बुस्टर डोज खोप लगाइने पनि जानकारी गराएका छन् । कोभिड खोपको २ डोजले आवश्यकता अनुसारको सुरक्षा प्रदान नगर्ने भएका बुस्टर डोज लगाउनु पर्ने उनको भनाइ थियो ।
ओमिक्रोन फैलिन नदिनका लागि सेनाका ४२ टोली सबै क्षेत्रमा परिचालन गरिने पनि जोनसनको भनाइ थियो । त्यस्तै इङल्याण्डभर थप खोप केन्द्र र घुम्ती सेवा स्थापना गरिने पनि उनले बताए ।
सरकारको नयाँ प्रतिबन्धात्मक नियम ‘प्लान बी’ अनुसार सोमबारदेखि मानिसहरूलाई घरबाटै काम गर्न समेत भनिएको छ । आइतबार बेलायतभर ओमिक्रोनका १ हजार २३९ नयाँ संक्रमित थपिएका छन् ।
योसँगै ओमिक्रोन भेरियन्ट ३ हजारभन्दा बढी मानिसमा पुष्टि भइसकेको छ । तर ओमिक्रोन संक्रमितको संख्या योभन्दा बढी हुन सक्ने अनुमान गरिएको छ ।













