एपेक्स कलेजमा कान्तिपुर मिडिया ग्रुपको लगानी, १ करोड रुपैयाँको कोष खडा गर्ने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

एपेक्स कलेजमा कान्तिपुर मिडिया ग्रुपको लगानी, १ करोड रुपैयाँको कोष खडा गर्ने



काठमाडौं । कान्तिपुर मिडिया गु्रप (केएमजी) ले उच्चकोटीको प्रतिवद्ध शैक्षिक संस्था एपेक्स कलेजसँग सहकार्य गर्ने भएको छ । सन् २००० देखि सञ्चालित एपेक्स कलेज देश–विदेशमा अनुभवप्राप्त ३२ जना पूर्णकालिन प्राध्यापक एवम् ३८ जना व्यवस्थापकीय कर्मचारीसहितको सशक्त टिम रहेको प्रतिष्ठित संस्था हो ।

केएमजीले यसलाई थप समुन्नत बनाउँदै अध्ययनरत् विद्यार्थीहरुलाई अतिरिक्त अवसरहरु उपलव्ध गराउने उद्देश्यसहित यसमा लगानी गरेको छ । केएमजीको भगिनी कम्पनी एमएनएस नेक्स्ट भेञ्चर कोर्पले सम्झौता गरी एपेक्स कलेज स्टार्टअप सेन्टर बनाउन १ करोड रुपैयाँको कोष खडा गर्ने निर्णय लिएको छ ।

उक्त रकम कलेजका विद्यार्थी एवम् पूर्वविद्यार्थीहरुको नवीन सोचमा आधारित परियोजनालाई सघाउन उपयोग गरिनेछ । एपेक्सबाट दीक्षित विद्यार्थीलाई प्रतिष्ठित उद्योग–प्रतिष्ठानहरुले प्राथमिकताका साथ रोजगारीमा लिने प्रबन्ध मिलाउन समझदारी–पत्रहरुमा पनि हस्ताक्षर गरिएको छ । एपेक्सका उत्कृष्ट विद्यार्थीहरुलाई व्यवहारिक ज्ञानआर्जनका निम्ति पेड इन्टर्नसीपमा पठाउने तथा त्यहींबाट नियमित काममा राख्न सकिने व्यवस्थासमेत मिलाइनेछ ।

विद्यार्थीहरुको क्षमता अभिवृद्धिको वातावरण बनाउन एपेक्सभित्र चाँडै नै बिजिनेश इन्टेलिजेन्स सेन्टरको स्थापना गर्नेछ । साथै मार्केट–रिसर्च र प्रकाशनको काम पनि थालिने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्