चित्रकथा ‘अनौठो वरदान’ प्रकाशित
काठमाडौं । पृथ्वीमा जन्मेका सबै एक दिन मर्नै पर्छ । जन्मसँग मृत्यु अनिवार्य हुने रहेछ, यो नै अन्तिम सत्य हो । विधिको यो विधान कसले टार्न सक्छ र ?
यस ‘अनौठो वरदान’ चित्रकथामा एक पौराणिक कथा प्रस्तुत गरिएको छ । कथामा राजा हिरण्यकशिपु अमरत्व प्राप्त गर्न चाहन्छन् र उनी अमरत्व प्राप्तीका लागि हिमालय पर्वतमा भगवान ब्रह्माको कठोर तपस्या गर्न थाल्छन् । हिरण्यकशिपु भगवान ब्रह्मा बाट अमरत्वको वरदान प्राप्त गर्न सफल हुन्छन । हिरण्यकशिपुले अमरत्वको वरदान प्राप्त गरिसकेपछि स्वयं आफैलाई देवता घोषणा गरेर स्वर्ग, पृथ्वी र पाताल कब्जा गर्छन । सम्पूर्ण जगत उनको आतंक र अन्यायबाट भयभीत हुन्छ । तर हिरण्यकशिपुका छोरा प्रह्लाद आफ्नो बुबाको दम्भ र अहंकार स्वीकार्न तयार हुदैनन् ।
लेखक महेश्वर चापागाईंको पहिलो बालपुस्तक र दीपक थामीको चित्राङ्कन रहेको यस चित्रकथामा घमण्ड, अहंकार र दम्भले मानिसलाई पतनको बाटोतीर उन्मुख गराउँछ भनेर देखाइएको छ ।
कथालय इन्कद्वारा प्रकाशित यस चित्रकथा पाँच वर्ष वा माथिका बालबालिकाको लागि पढेर सुनाउन, पुस्तकबारे छलफल गर्न तथा ८ वर्ष माथिका बालबालिकाले आफै अध्ययन गर्न उपयुक्त छ । यो चित्रकथाले बालबालिकालाई पौराणिक कथाको महत्व बुझाउन मदत गर्नेछ ।













