कार दुर्घटनामा परि शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकका शाखा प्रमुख पाण्डेको मुत्यु
काठमाडौं । कार दुर्घटनामा परि साईन रेसुङ्गा डेभलपमेन्ट बैंकका कर्मचारीको ज्यान गएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको वाणगंगा नगरपालिका–१ दरखास्त भन्ने स्थानमा भएको दुर्घटनामा बा ६ च ११६४ नम्बरको कार चालक ३५ वर्षीय अनुराग पाण्डेको मृत्यु भएको हो । उनी साईन रेसुङ्गा डेभलपमेन्ट बैंकको जितपुर शाखा प्रमुख एवम् क्लस्टर हेड रहेका थिए ।
त्यसैगरी दुर्घटनामा परि वाणगंगा नगरपालिकाको पिपरा बस्ने ४० वर्षीय राजीव शर्मा र कपिलवस्तुको बुद्धभूमि नगरपालिका २ बस्ने २७ वर्षीय सुदीप खनाल घाइते भएको प्रहरीले जनाएको छ ।
गएराति नौ बजेतिर चारनम्बरबाट गोरुसिंगे जाने क्रममा कारलाई शुरुमा ट्रकले ठक्कर दिएको र लगत्तै ना ५ ख ३३८७ नम्बरको बससँग ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जनाएको छ ।
दुर्घटनापछि चार नम्बर सामुदायिक अस्पतालमा प्राथमिक उपचार गरिएको र थप उपचाको लागि रुपन्देहीको बुटवलस्थित क्रिमसन अस्पतालमा राति १० बजेर ४५ मुत्यु भएको प्रहरीले जानकारी दिएको छ ।













