७ श्रावण २०८३, बिहिबार

सामाजिक सुरक्षा ऐन २०७४ पूर्ण कार्यान्वयन गर्न माग



काठमाडौं । श्रम ऐन तथा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ पूर्ण कार्यान्वयनको माग गर्दै अखिल नेपाल सेक्युरिटी मजदुर संघले श्रम विभागमा ज्ञापन पत्र बुझाएको छ ।

सेक्युरिटी कम्पनीहरूले मजदुरहरूको सेवा सुविधामा ध्यान नदिएको भनि आन्दोलनरत अखिल नेपाल सेक्युरिटी मजदुर संघले आइतबार श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा श्रम ऐन र योगदानमा आधारित सुरक्षा ऐन २०४२ को पूर्ण कार्यान्वयन गर्नुपर्ने मागसहित ज्ञापन पत्र बुझाएको हो ।

संघले श्रम ऐन र सामाजिक सुरक्षा ऐनलाई पूर्ण रुपमा कार्यान्वयन गराउनु भनि सर्वोच्च अदालतले २०७७ साल पुष २२ गते दिएको अन्तरिम आदेश कार्यान्वय गराउन माग गरेको छ । साथै अवैधानिक रुपले चलेका कम्पनीहरूलाई बन्द गर्नुपर्ने, अधिकार सम्पन्न मजदुर आयोग गठन गर्नुपर्ने, श्रम क्षेत्रमा सार्वजनिक खरिद ऐन पूर्ण रुपमा बन्द गर्नुपर्ने लगायतको माग ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

ज्ञापनपत्रसहित श्रम विभाग पुगेका मजदुरहरुले नाराबाजी समेत गरेका थिए। संघको ज्ञापन पत्र बुझ्दै विभागका महानिर्देशक उमाकान्त आचार्यले ज्ञापन पत्रमा उल्लेखित मागलाई विभागले सकारात्मक रुपमा लिएको अखिल नेपाल सेक्युरिटी मजदुर संघका अध्यक्ष लक्ष्मीप्रसाद ढकालले बताए ।

साथै देशैभरमा श्रम कार्यालयहरुलाई श्रमिकमैत्री गराइनुपर्ने, राज्यका नीति, नियम नमान्ने सेक्युरिटी कम्पनीहरुलाई बन्द गर्नुपर्ने र मजदुरहरुले राज्यले तोकेअनुसारको सेवा सुविधा पाउनुपर्ने माग राखिएको अध्यक्ष ढकालले बताए । उनले विभाग कानुनको कार्यान्वयनको निम्ति प्रतिवद्ध रहेको पनि बताए। छोटो समयमा कानुनहरू बदलिइरहेका कारण यसको कार्यान्वयनमा समस्या देखा परेको उनले उल्लेख गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्