७ श्रावण २०८३, बिहिबार

आइएफआइसीको शेयर चौधरीलाई बिक्री गर्नु गैरकानुनी रहेको भन्दै दुगड समूह अदालत पुग्यो



काठमाडौं । सनराइज बैंकका अध्यक्ष मोतीलाल दुगडले अदालतमा मुद्धा दायर गरेका छन् । दुगडले नेपाल बंगलादेश बैंक, आइएफआइसी र नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाइ पाटन उच्च अदालतमा मुद्दा दायर गरेका हुन् । यसअघि दुगड समूहले राष्ट्र बैंकको नियमन विभागमा उजुरी दिएका थिए ।

बङ्गलादेश बैङ्कको रणनीतिक साझेदार आईएफआईसि बैङ्कले आफ्नो स्वामित्वको ४२ प्रतिशत शेयर बिक्री गर्दैछ । उक्त शेयर उद्योगपति विनोद चौधरीले किन्ने सहमति भएको छ । तर आईएफआइसी बैंकले ९ महिनाअघि दुगड समूहलाई बिक्री गर्ने सम्झौत गरेको थियो । शुरुमा आफूलाई बिक्री गर्ने सम्झौता गरेको तर अहिले आएर अर्कै समूहलाई बेच्ने गरी प्रक्रिया अगाडि बढाएको भन्दै दुगड समूहले मुद्धा हालेको हो । दुगड समहूले उक्त सम्झौता गैरकानुनी भएको दाबी गरेको छ ।

सनराइज बैंकका अध्यक्ष दुगडले एनबी बैंकमा रहेको आईएफआईसीको ४२ प्रतिशत प्रमोटर शेयर खरिदका लागि आईएफआईसीसँग सम्झौता गरेका थिए । आईएफआईसीले एनबी बैंकमा रहेको आफ्नो प्रमोटर शेयर प्रतिकित्ता १५७ रुपैयाँमा विक्री गर्न सहमत गरेको थियो । आईएफआईसीले एनबी बैंकमा रहेको प्रमोटर शेयर विक्री गरेर ६ अर्ब रुपैयाँ प्राप्त गर्ने सम्झौता भएको थियो । गत अप्रिल २ मा दुबै समूहबीच हस्ताक्षर भएको दाबी छ ।

उक्त सबै प्रमाण आफूहरुसँग रहेको बताउँदै दुगड समूहले राष्ट्र बैंकलाई आफूसँग भएको सम्झौता भंग भएको जानकारी पनि नदिएको र सम्पर्क बन्द गरेर अर्कै समूहलाई बिक्री गर्न लागेकोले रोक्नको लागि उजुरी दिएको स्रोतले बताएको छ । आफूसँग पहिला नै सम्झौता गरेकाले आफूहरुले नै शेयर किन्न पाउनुपर्ने दुगड समूहको माग छ ।

दुगड समूहले आईएफआईसीको शेयर किनेर सनराईजसँग मर्जमा लैजान खोजेका थिए । तर २ महिनादेखि आईएफआईसीसँग दुगड समूहको कुराकानी नै बन्द भएको छ । आईएफआईसी बैंकको प्रमोटर शेयर खरिद गर्न दुगड समहूलाई नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र पूर्व अध्यक्ष पशुपति मुरारकाकाले साथ दिएका थिए ।

यता नेपाल राष्ट्र बैंकले ‘फिट एण्ड प्रपर टेष्ट’ गर्दा एनबी समूह आईएफआईसीको शेयर हिस्सा खरिद गर्नका लागि ‘अयोग्य’ देखाएको थियो । एनबी बैंकमा एनबी समूहको ८ प्रतिशत प्रमोटर शेयर छ । एनबी समूह आफूले शेयर किन्न नपाएपछि आफू अनुकूल लगानीकर्ता भित्र्याउन चाहन्छ । तर दुगड समूह भने चौधरीको हातमा उक्त शेयर पर्न नदिन सक्रिय रुपमा लागेको छ ।


प्रतिक्रिया दिनुहोस्