७ श्रावण २०८३, बिहिबार

नर्भिक अस्पतालले ५० प्रतिशत बोनस सेयर वितरण गर्ने



काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल पब्लिक लिमीटेड कम्पनीमा रुपान्तरण भई आह्वान भएको पहिलो वार्षिक साधारणसभा(एजीएम)ले ५० प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको छ । आइपीओ निष्काशनको समेत तयारीमा रहेको नर्भिक अस्पतालले आर्थिक वर्ष २०७७/७८ को खूद नाफाबाट सेयरधनीलाई ५० प्रतिशतले हुन आउने बोनस सेयर वितरणको प्रस्ताव पारित गरेको छ ।

नर्भिक अस्पतालको हालको चुक्तापूँजी १५ करोड रुपैयाँ रहेको छ । ५० प्रतिशत बोनस सेयर वितरणपछि चुक्तापूँजी बढेर २२ करोड ५० लाख रुपैयाँ पुग्नेछ । त्यसैगरी साधारण सभाले हाल ३० करोडमा सीमित अधिकृत पूँजीलाई बढाएर १०० करोड पुर्याउने प्रस्ताव समेत पारित गरेको छ ।

नर्भिक अस्पतालले आर्थिक वर्ष २०७७/७८ मा ८ करोड ५६ लाख खूद मुनाफा आर्जन गरेको थियो । सोही मुनाफाबाट ५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक नगद लाभांश समेत व्यवस्थापन हुने अस्पतालले जनाएको छ ।

सो क्रममा अध्यक्ष सिंहले कोरोना भाइरस महामारीको बेला समेत हस्पिटलले सन्तोषजनक प्रगति गरेको जानकारी दिएका थिए । महामारीको समयमा जनमानसप्रति सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराइएकोे र नर्भिकले सामाजिक उत्तरदायीत्वअन्तर्गत पनि प्रभावकारी कार्यक्रमहरु गरेको उनले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्