फागुन १ बाट विद्यालय खोल्न सीसीएमसीको सिफारिश
काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले १ फागुनबाट विद्यालय खोल्न सरकारलाई सिफारिश गर्ने निर्णय गरेको छ।
सीसीएमसीको आइतबार बसेको बैठकले भौतिक रुपमा पठनपाठन गर्ने गराउने गरी विद्यालय खोल्न सिफारिश गर्ने निर्णय भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । “कोभिड–१९ को संक्रमण कम भएकाले अब भौतिक रुपमा पठनपाठन गर्न सकिने निष्कर्ष निकालिएको हो ।
कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढ्न थालेपछि १ माघदेखि विद्यालय बन्द गरिएको थियो। अहिले कोरोना संक्रमण कम हुँदै गएको सीसीएमसीको ठहर छ।
संक्रमण कम हुँदै गएपछि केही स्थानीय तहले विद्यालय सञ्चालन गर्न शुरू गरेका छन्। शिक्षा क्षेत्रका सरोकारवालाले पनि विद्यालय खोल्न आग्रह गर्दै आएका छन्।













