सकियो बिल्डकन एक्स्पो, हरित निर्माण सामाग्रीमा आकर्षण
सकियो बिल्डकन एक्स्पो, हरित निर्माण सामाग्रीमा आकर्षण
काठमाडौ । राजधानीमा आइतबार सकिएको तीनदिने ‘नेपाल बिल्डकन अन्तरराष्ट्रिय एक्स्पो’ मा हरित निर्माण सामाग्रीका स्थलमा विशेष आकर्षण देखिएको जनाइएको छ । वातावरण जोगाउन सहयोग गर्ने प्रकारका निर्माण सामाग्रीका स्टलहरुमा आकर्षण देखिएको आयोजकले जनाएको छ । एक्स्पो आयोजक मिडिया स्पेसका अंकित गुप्ताले तीन दिनसम्म चलेको एक्स्पोको ४० हजारले अवलोकन भ्रमण गरेको जनाएका छन् । एक्स्पो शुक्रबारदेखि चलेको थियो ।
एक्स्पोमा आउने अधिकांशले गोर्खा इको प्यानल, गोर्खा विण्डोर, गोर्खा परभेबन पेपर (पानी सोस्ने ब्लक)हरुप्रति आकर्षण देखाएको बताइएको छ । यी सवै वातावरणमैत्री निर्माण सामाग्री हुन् । निर्माण सामाग्रीमा हरित क्रान्ति नाराका साथ यी निर्माण सामाग्रीहरु उत्पादित हुन् । इटाको विकल्पमा प्रयोग हुने इको प्यानलले उव्जाउ माटो जोगाएको, विण्डोरले काठको विकल्पमा काम गरेकोले वनजंगल विनाश हुनबाट जोगाएको अनि पानी सोस्ने ब्लकले जमिनमुनि पानी पठाएर सहयोग गरी पानीको समस्याबाट बचाउन सहयोग गर्ने भएकाले यस्ता सामाग्रीप्रति विशेष आकर्षण देखिएको आयोजकले जनाएको छ ।
नेपाल तथा विदेशका निर्माण उपकरण तथा औजारहरू उत्पादन गर्ने कम्पनीहरूको सहभागितामा सञ्चालित एक्स्पोले निर्माण उपकरण तथा औजारको बजार उकास्ने अपेक्षाका साथ गरिएको थियो । एक्स्पोले कोरोनाका कारण करीब दुई वर्ष सुस्त बनेको निर्माण उपकरण तथा औजारको बजार उठाउन टेवा पुगेको आयोजकले बताएको छ ।
एक्स्पोमा नेपाली र विदेशी गरी एक सय ६० कम्पनीका दुई सय भन्दा बढी ब्राण्डका निर्माण उपकरण, मेशिन÷औजार राखिएका थिए । निःशुल्क प्रवेश रहेको उक्त एक्स्पोमा आउने अवलोकनकर्ताले उत्साहजनक प्रतिक्रिया दिएको जनाइएको छ ।
एक्पोमा निर्माण कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरुले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनका बारेमा जानकारी गराएका थिए । यस क्षेत्रमा आउने नयाँ–नयाँप्रविधिका बारेमा जानकारी गराउन यो प्रदर्शनी बिगत ६ वर्षदेखि हरेक वर्ष सञ्चालन हुँदै आएको यो सातौ पटक हो ।
आयोजकका अनुसार, प्रदर्शनीमा टाइटल स्पोन्सर हुलास स्टील इन्डष्ट्रिज रहेको थियो भने नेपाल इन्जिनियरिङ एसोसिएसन, निर्माण व्यवसायी महासंघलगायतका संस्थाहरुको सहयोग रहेकोे थियो । तीन दिनसम्म सञ्चालन भएको प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको थियो ।
प्रदर्शनीमा निर्माण क्षेत्रमा काम गरीरहेका नेपालका दिग्गज आर्किटेक्ट, इन्जिनियर, कन्ट्रयाक्टरस, विल्डरस, इन्टेरियर डिजाइनरहरु, घर बनाउन चाहने व्यक्ति तथा आमनागरीकको उल्लेखनिय सहभागिता रहेको थियो । अन्तर्राष्ट्रिय प्रदर्शनीको मुल उद्घेश्यको रुपमा विगतमा झैँ नेपालको निर्माण क्षेत्रमा नयाँ प्रविधिका सामान भित्र्याउने र विदेशमा सफलतापूर्वक प्रयोग भएका नयाँ प्रविधिहरुलाई नेपाली बजारमा सहज उपलब्ध गराउने महत्वपूर्ण माध्यम भएको आयोजकले जनाएको छ ।













