बलेफी हाइड्रोपावरको आईपीओमा साढे २ अर्ब रुपैयाँभन्दा बढी संकलन, कतिले दिए आवेदन ?
काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओमा अन्तिम दिन १५.७३ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार सोमबार ५ बजे सम्म कम्पनीको आईपीओमा २२ लाख ६४ हजार ३७८ आवेदकले २ करोड ६१ लख ७१ हजार ३९० कित्ता शेयरका लागि २ अर्ब ६१ करोड ७१ रुपैयाँ बराबरको आवेदन दिएका हुन् ।
कम्पनीले चैत १६ गते बुधबारदेखि चैत्र २१ गते सोमबारसम्म आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकितमूल्यका १८ लाख २७ हजार ९७० कित्ता साधारण शेयर निष्काशन गरेको हो । जसमध्ये ४ प्रतिशत अर्थात ७३ हजार ११९ कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई, ५ प्रतिशत अर्थात ९१ हजार ३९८ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई र बाँकी १६ लाख ६३ हजार ४५३ कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याईएको छ ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।













