विदेशी मुद्रा बढाउन दबाब छ, रेमिट्यान्स पठाउनेलाई आईपीओ र एफपीओमा निश्चित प्रतिशत दिन्छौः अर्थमन्त्री शर्मा
रेमिट्यान्स र पर्यटन वृद्धिका लागि पहल गर्न विदेशस्थित नियोग प्रमुखलाई अर्थमन्त्रीको निर्देशन
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले विदेशमा रहेका नागरिकबाट जतिसक्दो धेरै रेमिट्यान्स भित्र्याउन र नेपाल घुम्न जानुपर्ने विषयमा प्रवर्द्धनात्मक कार्यक्रम गरी विदेशी पर्यटकको संख्या बढाउनका लागि पहलकदमी लिन विदेशस्थित नियोग प्रमुखलाई निर्देशन दिएका छन् ।
दुई दर्जन भन्दा बढी राजदूत, कार्यवाहक राजदूत, महावाणिज्यदूत लगायत विभिन्न देशका नियोग प्रमुखहरूसँग आइतबार दिउँसो भर्चुअल बैठक गर्दै अर्थमन्त्री शर्माले विदेशी मुद्रा बढाउनुपर्ने र भुक्तानी सन्तुलन सकारात्मक बनाउनु पर्ने दबाबमा सरकार रहेकाले सबै पक्ष मिलेर काम गर्नुपर्ने बताए । ‘हामीलाई यतिबेला विदेशी मुद्राको सञ्चिति बढाउनुपर्ने दबाब छ । यसका लागि तपाईँहरूले विशेष भूमिका खेल्नुपर्छ’ उनले भने, ‘रेमिट्यान्सका माध्यमबाट पैसा पठाउन त्यहाँका नागरिकलाई प्रोत्साहन गर्नुस् । नेपाल कोभीड १९ बाट तंग्रिसकेको सन्देश दिदैँ पर्यटन प्रवर्द्धनका विभिन्न कार्यक्रम गरी धेरै भन्दा धेरै पर्यटक नेपाल आउने वातावरण सृजना गर्नुस् ।’
चैत महिनामा ९१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको जानकारी दिदैँ यतिमा मात्रै सन्तुष्ट नभई अझै वृद्धि गर्न सकिने खाँचो रहेको उनले बताए । ‘रेमिट्यान्स बढाउनका लागि विभिन्न प्याकेज ल्याउन लागेका छौं । रेमिट गर्नेहरूलाई आइपिओ र एफपिओमा निश्चित प्रतिशत नै छुट्याएर लगानी गर्न दिनेसम्मका गृहकार्य भएका छन्’ उनले भने । आगामी आबको बजेट निर्माणका लागि सुझाव लिन नियोग प्रमुखहरूसँग छलफल भएको थियो । सो छलफल परराष्ट्र मन्त्रालयमा गरिएको थियो ।
त्यसक्रममा अर्थमन्त्री शर्माले लगानी सम्मेलनहरू आयोजना गरी नेपालमा विदेशी लगानी बढाउने वातावरण सृजना गर्नुपर्ने पनि बताए । ‘हामीले अलि ठूला परियोजना बनाउँदा मात्रै ऋण लिने र यस्तो ऋण सम्बन्धित परियोजनाले नै तिर्नसक्ने किसिमले लिने गरी मोडालिटी बनाउँदैछौ’ उनले भने, ‘गैरआवासीय नेपालीलाई पनि डलरमा खाता खोल्न धेरै सहज बनाइसकेका छौं ।’
त्यस्तै कुन देशमा कस्तो बस्तुको माग रहेको र नेपालमा त्यसको उत्पादन हुन सक्ने भए सुझाव दिन पनि उनले आग्रह गरे । ‘हामी उत्पादन वृद्धि गरी निर्यात बढाउन खोजिरहेका छौं । यसका लागि कुन देशमा के बस्तुको माग छ भन्ने कुरा तपाईँहरूले सुझाव दिनुस् । त्यसपछि सोहीअनुसार बस्तु निर्यात गर्नका लागि यहाँ तयारी गरिनेछ’ अर्थमन्त्री शर्माले भने ।
अर्थ सचिव मधुकुमार मरासिनीले अर्थतन्त्र दबाबमा रहेको र यसलाई बिस्तारै सुधार गर्ने दिशामा सरकार अघि बढेको बताए । कार्यक्रममा कायममुकायम गभर्नर निलम ढुङ्गाना तिम्सिनाले अर्थतन्त्र दबाबमा भएकाले सबै मिलेर सुधार गर्नुपर्ने खाँचो रहेको औंल्याए ।













