एशियन कप छनोटका लागि फुटबल टोली घोषणा, कप्तान र उपकप्तान परेन
काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले कुवेतमा हुने एएफसी एसियन कप २०२३ छनोटका लागि अन्तिम टोली घोषणा गरेका छन् । उक्त टिममा अल्मुताइरीले राष्ट्रिय फुटबल टोलीका कप्तान र उपकप्तानलाई समावेश गरेको छैन ।
राष्ट्रिय टोलीका कप्तान किरणकुमार लिम्बु, सुजल श्रेष्ठ, रोहित चन्द, अनन्त तामाङ, अन्जन विष्ट, तेज तामाङ, सुमन लामा, विशाल राई, विमल घर्तीमगर, विशाल श्रेष्ठलाई बाहिर राख्दै शुक्रबार प्रशिक्षक अल्मुताइरीले २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका छन् ।
एएफसी एसियन कप २०२३ छनोटको समूह ‘ए’ मा नेपालले जोर्डन, कुवेत र इन्डोनेसियासँग खेल्दैछ । नेपालले आफ्नो पहिलो खेल जुन ८ मा जोर्डनसँग खेल्नेछ भने जुन ११ मा कुवेतसँग खेल्नेछ । अन्तिम खेल जुन १४ मा इन्डोनेसियासँग हुनेछ ।
अल्मुताइरीले घोषणा गरेको टिममा गोलरक्षकमा दीप कार्की, विशाल सुनार, टिकेन्द्र सिंह थापा डिफेण्डरमा विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ र सुमन अर्याल मिडफिल्डमाः आकाश बुढामगर, एरिक विष्ट, निरकुमार राई, पुजन उपर्कोटी, रोशन रानामगर, सन्तोष तामाङ, शेशेहाङ आङदेम्बे, सुनील वल र सुरज ज्यू ठकुरी फरवार्डमा आयुश घलान, दर्शन गुरुङ, जर्जप्रिन्स कार्की, मनिष डाँगी र नवयुग श्रेष्ठ समेटेका हुन ।













