१३ श्रावण २०८३, बुधबार

आमसञ्चार प्रशिक्षण प्रतिष्ठानमा कृष्णप्रसाद भट्टराईको नाम जोडिएको प्रति प्रेस चौतारीको ध्यानाकर्षण



काठमाडौं । आमसञ्चारको क्षेत्रमा कार्यरत जनशक्तिको क्षमता अभिबृद्धिका लागि सरकारले सञ्चालन गर्न लागेको आमसञ्चार प्रशिक्षण प्रतिष्ठानमा कृष्णप्रसाद भट्टराईको नाम जोडिएको प्रति प्रेस चौतारी नेपालको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । चौतारीले शुक्रबार एक विज्ञप्ति सार्वजनिक गर्दै सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत आफ्नै संस्थापक नेताको नाममा गलत तथ्यहरु प्रस्तुत गरेर आमसञ्चार क्षेत्रलाई प्रभावित पार्ने गलत उद्देश्यका साथ कार्यक्रम ल्याउन लागेको जनाउदै आपत्ती जनाएको हो ।

सञ्चारकर्मीको क्षमता विकासका लागि प्रतिष्ठान गठन गर्ने निर्णय स्वागतयोग्य हो । तर आफ्नै पार्टीको संस्थापक नेतालाई गलत तथ्य प्रस्तुत गरेर जबरजस्त रुपमा स्थापित गराउन खोज्ने कार्य कुनै पनि मानेमा सैह्य हुन सक्दैन उक्त विज्ञप्तिमा उल्लेख गरीएको छ ।

नेपाल पत्रकार महासंघको संस्थापक सभापति सत्यनारायण बहादुर श्रेष्ठ हो भन्ने तथ्य महासंघकै दस्तावेजबाट प्रमाणित भइसकेको अवस्थामा सरकारले गलत तथ्यको आधारमा कृष्णप्रसाद भट्टराईलाई नेपाल पत्रकार महासंघ (तत्कालीन संघ) को संस्थापक अध्यक्षको रुपमा स्थापित गर्न खोज्नु र प्रतिष्ठानलाई राजनीतिकरण गर्नु आफैमा ठूलो बेइमानी भएको बताएको छ । कसैको इतिहास र योगदानलाई नामेट पार्ने र आफ्नो पार्टीको संस्थापक नेतालाई आमसञ्चार प्रतिष्ठानको अगाडि फुर्काे जोडने कामप्रति प्रेस चौतारी नेपाल गम्भीर आपत्ति जनाएको छ ।

बर्तमान गठबन्धन सरकारले बिगतको सवै स्थापित तथ्यलाई नजर अन्दाज गर्दै जबरजस्त रुपमा आफ्ना संस्थापक नेताको नाम जोडेर प्रतिष्ठान सञ्चालन गर्न खोज्नुमा राजनीतिक कुनियत रहेको समेत चौतारीले आरोप लगाएको छ । यस गलत कामका विरुद्ध सचेत भई आवाज उठाउन आमसञ्चारकर्मी, सञ्चारजन्य संघ–संस्था र सरोकारवाला निकाय सवैलाई आह्वान गर्दै नियोजित रुपमा गरिएको यो गलत निर्णय तत्काल सच्याउन सरकारसँग माग समेत प्रेस चौतारीले गरेको छ ।