१३ श्रावण २०८३, बुधबार

‘सरकार न हाँसको चाल न बकुल्लाको चाल भयो’ पाठ्यपुस्तक उपलब्ध गराउ: अनेरास्ववियु



काठमाडौं । शैक्षिक सत्र सुरु हुनु भन्दा अघि नै विद्यालयहरुमा पुगिसक्नुपर्नेमा पाठ्यपुस्तक नयाँ शैक्षिक सत्रको सुरु भईसकेको हप्तौं बिति सक्दा पनि विद्यार्थीहरुको हातमा नयाँ पाठ्यपुस्तक पुग्न नसकेको भन्दै अनेरास्ववियुले ध्यानाकर्षक जनाएको छ । अनेरास्ववियुले आज एक विज्ञप्ति जारी गर्दै पाठ्कपुस्तक उपलब्ध गराउन सरकारलाई अनुरोध समेत गरेको हो ।

जनक शिक्षा सामाग्री केन्द्रले रुस र युक्रेन युद्धको कारण देखाउदै लाखौं विद्यार्थीहरुको भविष्य माथि खेलवाड गरी समयमै पाठ्यपुस्तक छाप्न सकिएन भनेर गैर जिम्मेवार जवाफ दिएर आफ्नो जिम्मेवारीबाट पन्छिन खोजेको कार्य प्रति अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र जनक शिक्षा सामाग्री केन्द्रको चरम लापरवाहीको कारणले हरेक वर्ष शैक्षिक सत्र सुरु हुनु भन्दा अघि नै विद्यालयहरुमा पुगिसक्नुपर्नेमा पाठ्यपुस्तक पुराउन नसकेको आरोप अनेरास्ववियुले लगाएको छ ।

न हाँसको चाल न बकुल्लाको चाल भने झै परमादेशबाट गठित देउवा नेतृत्वको नालायक सरकारको अवस्था हेर्दा यस वर्ष शैक्षिक सत्र सकिदासम्म पनि पाठ्यपुस्तक नपाउने अवस्था रहने पक्का छ । जनक शिक्षा सामाग्री केन्द्रले हरेक वर्ष यसरी नै लाखौं विद्यार्थीहरु माथि अन्याय गर्दै आइरहेको छ र आफ्नो कमजोरी लुकाउन सधैं झै बाहनावाजी गरिरहेको छ अनेरास्ववियुले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

जनक शिक्षा सामाग्री केन्द्र भित्रको बेथिति, ढिलासुस्तीको अन्त्य गरी केन्द्रको क्षमता वृद्धि गर्दै यसलाई व्यवस्थित गरी विद्यार्थीहरुको हातमा तुरुन्तै पाठ्यपुस्तक पुर्याउन अनेरास्ववियु शिक्षा मन्त्रालय र जनक शिक्षा सामाग्री केन्द्र समक्ष जोडदार माग गरेको हो ।