एनआईसी एशिया क्लेक्सी क्याप फण्डको इकाईमा ४ दिन मै माग भन्दा बढी आवेदन
काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले जेठ १९ गते बिहीबार देखि फण्ड निष्काशन तथा बिक्री खुला गरेको फ्लेक्सी क्याप फण्डमा ४ दिन मै माग भन्दा बढी आवेदन परेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री खुला गरेको थियो ।
एन आई सी एशिया फ्लेक्सी क्याप फण्डमा मंगलबार साँझ ५ः३० बजेसम्म ९२,२९० आवेदकबाट १ अर्व ६ करोड भन्दा बढी इकाई खरिदको लागि आवेदन परेको छ । उक्त एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको आकार १ अर्व रुपैयाँबाट बृद्धि गरी १ अर्व २५ करोड रुपैयाँसम्म कायम गर्न सकिने हुँदा उक्त योजनाको इकाई खरिद गर्नका लागि २०७९ जेठ २५ गते बैंकिङ्ग समय सम्म आवेदन दिन सकिने छ ।
उक्त फण्डको अवधि ७ वर्ष रहेको छ । यो एक बन्दमुखी योजना हो । क्यापिटलले निष्काशन गरेको फण्डमा १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई संख्या कोष प्रवर्द्धक एनआईसी एशिया बैंकलाई छट्याइएको छ भने बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री खुला गरिएको छ ।
क्यापिटलको उक्त फण्डमा न्यूनतम १ सय इकाईदेखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ । उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट आवेदन दिन सक्नेछन् । एनआईसी एशिया क्यापिटल एनआईसी एशिया बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।














