चितुवाको छाला सहित तीन जना ब्यक्ति प्रहरीको नियन्त्रणमा
काठमाडौं । संरक्षित वन्यजन्तु हिउँ चितुवाको जस्तो देखिने छाला सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । टोखा नगरपालिका–१० गोंगबुबाट बिहीबार उक्त छाला सहित प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा धादिङ खानियाबास गाउँपालिका–२ झार्लुङ ठेगाना भएका ४८ वर्षीय खार्पा तामाङ, धादिङ गंगाजमुना गाउँपालिका–६ आरुबोटे ठेगाना भएका ३९ वर्षीय सुक बहादुर घले र सोही गाउँपालिका–६ बस्ने ४१ वर्षीय सूर्य बहादुर घले रहेका छन् ।
गोंगबु एरियामा अवैध रुपमा संरक्षित वन्यजन्तुको आखेटोपहार ओसारपसार गरी खरिद बिक्री गर्न ल्याएको भन्ने सूचनाको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले जाँच तथा खानतलासी गर्दा खार्पाले बोकेको झोलाभित्र लुकाई छिपाई बेरेर राखेको अवस्थामा उक्त छाला फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।
बरामद छाला सहित आवश्यक कारवाहीको लागि उनीहरुलाई डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको छ ।













