अप्पर सोलु हाइड्रोको आईपीओमा झण्डै १ अर्ब रुपैयाँ संकलन, कति कित्ता पर्यो आवेदन ?
काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको आइपीओमा दोस्रो दिनमा ९० करोड रुपैयाँ संकलन भएको छ । सिडिएस एण्ड क्लियरिङको अनुसार आज (असार २१ गते) साँझ ५ बजेसम्म ७ लाख ७५ हजार ९७५ जना आवेदकबाट ९० लाख ३४ हजार ९२० कित्ता बराबरको ९० करोड ३४ लाख ९० हजार रुपैयाँको आवेदन परेको हो । जुन माग भन्दा ३.९६ गुणा बढी हो ।
कम्पनीले असार २० गते, सोमबार देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । चुक्ता पूँजीको १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका १९ लाख ५७ हजार ५०० कित्ता शेयर निष्काशन गरेको हो । जसमध्ये २ प्रतिशत अर्थात ३९ हजार १५० कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषको लागि र बाँकी १८ लाख २० हजार ४७५ कित्ता शेयर सर्वसाधारण गानीकर्ताका लागि छुट्याइएको छ ।
कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर र अधिकतममा १ लाख कित्तासम्म आवेदन दिनसक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा असार २३ गते र ढिलोमा साउन २ गतेसम्म आवेदन सकिनेछ ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सक्नेछन् । यसका साथै मेरो शेयरको वेब तथा एपमार्फत पनि आवेदन दिन सकिनेछ ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपाले कम्पनीलाई इक्राएनपी आईआर डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।













