१५ श्रावण २०८३, शुक्रबार

बालबालिकालाई यौन दुर्व्यवहारबारे सचेत गराउने बालचित्र पुस्तक ‘रातो घेरो’ कथालय इन्कबाट प्रकाशित



काठमाडौं । बाल यौन दुर्व्यवहारबाट कसरी जोगिन सकिन्छ भन्ने विषयको बालचित्र पुस्तक ‘रातो घेरो’ कथालय इन्कले नेपाली भाषामा अनुवाद गरी प्रकाशन गरेको छ ।

ख्यातिप्राप्त लेबनानी लेखक समर महफुज मराजले लेखेको यो पुस्तकले सन् २०१५ को अरबी बाल पुस्तक पुरस्कार प्राप्त गरेको थियो । अरबी बाल पुस्तक पुरस्कार प्राप्त ‘रातो घेरो’ पुस्तकको नेपाली भाषामा अनुवादन कथालायाकी प्रमुख कार्यकारी अधिकृत सुनिती अमात्यले गरेका हुन् । यस पुस्तकमा मोना यजान र मायरा एल माएरका चित्र समावेश छन् ।

वासिम काकाले पार्किङमा रातो रङ लगाउने कुरा सुनेको अभिषको जिज्ञासाबाट सुरु भएको कथामा विशेषगरी बाल यौन दुव्र्यवहारबाट कसरी जोगिने भन्ने विषयलाई जोड दिइएको छ । रातो घेराले निषेधको संकेत गरेको अर्थमा आफ्नो शरीरलाई पनि रातो घेराभित्र रहेको बुझ्नुपर्ने आमाले अभिषलाई सम्झाउँछिन् । शरीरमा अरुले छुनै नहुने गोप्य अंगहरु पनि छन् भनेर बुझाएपछि अभिषमा थप जिज्ञासा बढ्छ । कसैले दुर्व्यवहारको कोसिस गरे कसरी जोगिने ? कस्तो प्रतिक्रिया दिने ? कसलाई सुनाउने ? यस्तै प्रश्नहरूको जिज्ञासा मेटाउने पुस्तकले अभिभावकलाई पनि सचेत गराउँछ ।