१५ श्रावण २०८३, शुक्रबार

दैलेखमा पूर्ण खोप लगाउनेको संख्यामा वृद्धि



काठमाडौं । दैलेखमा पूर्ण खोप लगाउनेको संख्यामा वृद्धि भएको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखले बुधबार संञ्चारकर्मीहरूसंग गरेको स्वास्थ्य कार्यक्रमको समिक्षा तथा समन्वय बैठकमा समग्र जिल्लामा पूर्ण खोप लगाउनेको संख्यामा वृद्धि भएको स्वास्थ्य सेवा कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख थिर प्रसाद रेग्मीले आव २०७८÷०७९ को १० महिनाको वार्षिक प्रगति विवरण प्रस्तुत गदै जिल्लामा नियमित पूर्ण खोप ८५ प्रतिशतले लगाएको बताए । रेग्मीका अनुसार ५४ प्रतिशत गर्भवती महिलाले स्वास्थ्य सेवा कार्यालय बाट सेवा लिने गरेको र १८ प्रतिशत गर्भवती महिलाले स्वास्थ्य स्वयमसेवीका बाट सेवा लिने गरेको बताए ।

जिल्लाभर २.५ केजि भन्दा कम तौल भएका बच्चाहरुको संख्या ४.८ प्रतिशत, ६ महिना सम्म आमाको दुध खाने बच्चाहरुको संख्या ७५.७ प्रतिशत, एक वर्ष सम्म पनि तौल नबढ्ने बच्चाहरु ४.१ प्रतिशत रहेको छ । यस्तै नयाँ खोजि गरिएका कुपोषितको संख्या ३६६ जना, सुरक्षित मातृत्व कार्यक्रम ३ वर्षको तुलनात्मक कभरेज अनुसार डेलिभरी गराउनेको संख्या ७०.५ प्रतिशत, तोकिएको मितिमा चार पटक जचाउने आमाहरुको संख्या ४५.१ प्रतिशत, सुत्केरी पश्चात २४ घण्टा ७२ घण्टा र ७ दिन जाच गर्ने आमाहरुको संख्या ५१.६ प्रतिशत रहेको छ । जिल्लाभर एचआईभि पोजेटिभ भई औषधी खानेको संख्या २०२ जना रहेको छ ।

कोभिडको तथ्याङ्क
आ.व २०७८÷०७९ मा जिल्लाभर कोभिड १९ को चेक जाँच भएको संख्या २३ हजार ७ सय ६६ जना मध्ये ४ हजार ८१ जनामा पोजेटिभ देखिएको छ भने २९ जनाको मृत्यु भएको तथ्याङ्कमा उल्लेख छ ।