हिमालयन हाइड्रोपावरको आईपीओ भोलि बाँडफाँट हुदैं, साढे १४ लाखको हात रित्तो - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

हिमालयन हाइड्रोपावरको आईपीओ भोलि बाँडफाँट हुदैं, साढे १४ लाखको हात रित्तो



काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीओ मंगलबार (असार २८ गते) बाँडफाँट हुने भएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडका अनुसार क्यापिटलको आफ्नै भवन नक्साल काठमाडौंमा मंगलबार बिहान ८.३० बजे बाँडफाँट हुन लागेको हो ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १६ लाख २६ हजार ४३० जना आवेदकले १ करोड ८४ लाख १९ हजार ९८० कित्ताका लागि १ अर्ब ८४ करोड १९ लाख ९८ हजार रुपैयाँ बराबरको आवेदन दिएका छन् । यो माग गरिएको भन्दा १० गुणा बढी हो ।

कम्पनीले असार १५ गतेदेखि असार १९ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकि मूल्यका १८ लाख ३० हजार ४७२ कित्ता सर्वसाधारणका लागि बिक्री गरेको थियो ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिमार्फत १० कित्ताका दरले बाँडफाँट गरिनेछ । १० कित्ताका दरले बाँडफाँट गर्दा १ लाख ८३ हजार ४७ जना आवेदकले मात्रै आईपीओ प्राप्त गर्ने भएका छन् । १० कित्ताका दरले आईपीओ बाँडफाँट गर्दा २ कित्ता बाँकी रहन्छन् । २ जना आवेदकलाई भने बाँकी रहेको २ कित्ताबाट एकएक कित्ता थप गरेर ११ कित्ता दरले बाँडफाँट गरिनेछ । बाँकी आवेदन दिएका १४ लाख २० हजार भन्दा बढी लगानीकर्ताको हात रित्तो हुनेछ ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका ९ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको थियो । तर २ लाख ८१ हजार ७५० कित्ताका लागि मात्रै आवेदन परेकाले बाँकी ६ लाख १८ हजार २५० कित्ता सहित गरी कुल १९ लाख ६८ हजार २५० कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६५ कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ९८ हजार ४१३ कित्ता शेयर सामूहिक लगानी कोषका लागि र बाँकी १८ लाख ३० हजार ४७२ कित्ता सर्वसाधारणका लागि छुट्याएको थियो ।


प्रतिक्रिया दिनुहोस्