हिमालयन हाइड्रोपावरको आईपीओ बाँडफाँट, लक्की नम्बर १ र २ !
काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेडको कार्यालय नक्साल काठमाडौंमा मंगलबार बाँडफाँट सम्पन्न भएको हो ।
कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १६ लाख २६ हजार ४३० जना आवेदकले १ करोड ८४ लाख १९ हजार ९८० कित्ताका लागि १ अर्ब ८४ करोड १९ लाख ९८ हजार रुपैयाँ बराबरको आवेदन दिएका छन् । यो माग गरिएको भन्दा १० गुणा बढी हो ।
१८,३०,४७२ कित्ता शेयरको लागि जम्मा १५,९५,५५४ जना आवेदकहरुबाट १,७७,५४,३०० कित्ता शेयरको लागि दरखास्त प्राप्त भएकोमा आवश्यक भेरिफिकेशन र रुजु पश्चात् १५,९३,७९६ जना आवेदकहरुबाट प्राप्त भएको १,७७,३४,३७० कित्ता शेयर बाँडफाँटका लागि योग्य रहेको देखिएकोले १० कित्तादेखि १,००० कित्तासम्म आवेदन दिनुहुने १,८३,०४७ जना आवेदकलाई गोलाप्रथा विधि मार्फत १० किता शेयरका दरले (सो मध्ये २ जनालाई २ कित्ताको दरले) शेयर बाँडफाँट गरिएको छ र जसमा १,६११ जना आवेदक (दोहोरो÷तेहोरो आवेदन दिने) ले आवेदन गरेको १८,२१० कित्ता शेयर एवं यस अघि नै स्थानिय बासिन्दाहरुको लागि निष्कासन गरिएको शेयरमा आवेदन दिई बाँडफाँटमा परेका १४७ जनाले आवेदन दिएको १,७२० कित्ता शेयर गरी जम्मा १,७५८ जनाले आवेदन दिएको १९,९३० कित्ता शेयर रद्द गरिएको छ । यसरी बाँडफाँट गर्दा रीतपूर्वक आवेदन दिनुहने १५,९३,७९६ आवेदकहरुमध्ये १० कित्तादेखि १,००० कित्तासम्म आवेदन दिने १,८३,०४७ जना आवेदकलाई गोलाप्रथा विधि मार्फत १० कित्ता शेयरका दरले १८,३०,४७० शेयर बाँडफाँट गरेका हुन । तत्पश्चात बाँकी रहेको २ कित्ता शेयरको हकमा २० कित्तादेखि १,००० कित्तासम्म आवेदन दिने सफल आवेदकहरु मध्येबाट २ जनालाई १ कित्ताका दरले पूनः गोलाप्रथा विधिद्वारा बाँडफाँट गरी कूल जम्मा १८,३०,४७२ कित्ता शेयर बाँडफाँट गरेको हो ।
कम्पनीले असार १५ गतेदेखि असार १९ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकि मूल्यका १८ लाख ३० हजार ४७२ कित्ता सर्वसाधारणका लागि बिक्री गरेको थियो ।














