मन्दाकिनी हाइड्रोपावरको आइपीओमा १ अर्ब ३४ करोड संकलन, आवेदन दिने बिहिबार अन्तिम दिन
काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडको आइपीओमा १ अर्ब ३४ करोड २४ लाख ४ हजार रुपैयाँ संकलन भएको छ । सीडीएसका अनुसार आज (साउन ११ गते) साँझ ५ बजेसम्ममा १० लाख ९३ हजार ७४९ जनाले १ करोड ३४ लाख २४ हजार ४० कित्ताका लागि आवेदन दिएका छन् ।
कम्पनीले साउन ९ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्कासन तथा बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ११ लाख ७६ हजार ७३ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमा २ प्रतिशत अर्थात २३ हजार ५२१ कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ भने बाँकी रहेको १० लाख ९३ हजार ७४८ कित्ताका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । आईपीओमा आवेदन दिने समय साउन १२ गतेसम्म रहेको छ भने उक्त समयभित्र माग बमोजिम आवेदन नपरेमा साउन २३ गतेसम्म थप हुनेछ ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताले विक्री प्रबन्धसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सक्नेछन् । यसका साथै मेरो शेयरको वेबसाइट तथा एपमार्फत पनि आवेदन दिन सकिनेछ ।
आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस ९आईएस० रेटिङ्ग प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।













