‘दलाल स्ट्रिट’का ‘बीग बुल’ राकेश झुनझुनवालाको निधन, यस्तो थियो भारतका शेयर बादशाहको विगत
काठमाडौं । ‘दलाल स्ट्रिट’ भनिने भारतीय सेयर बजारको बादशाह राकेश झुनझुनवालाको आइतबार विहान मृत्यु भएको छ । उनी ६२ वर्षका थिए । ३७ वर्षअघि १२०० भारतीय रुपये लिएर शेयर बजारमा छिरेका उनलाई भारतमा ‘बीग बुल’ र ‘भारतका वारेन बफेट’ जस्ता उपमा दिइएको छ ।
मृगौलामा समस्या भएर केही साताअघिमात्रै अस्पतालबाट डिस्चार्ज भएका उनलाई आइतबार विहान पौने ७ बजेट क्याण्डिब्रिच अस्पताल पुराउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । राकेश भारतका सर्वाधिक धनिहरुमा गनिन्छन् । फोब्र्सले उनलाई भारतको ३६ औं धनिको रुपमा सूचीकृत गरेको छ । संसार छोड्दै गर्दा उनीसँग ५ अर्ब ८० करोड डलर (करीब ७ खर्ब ३० अर्ब रुपैयाँ) को सम्पत्ती थियो ।
झुनझुनवाला भारतमा ठूलो सम्पत्ती दान गर्ने धनिहरुमा पर्छन् । उलने वार्षिक ५० करोड भारु दान गरिरहेका थिए । सेयर बजारबाट कमाएर आफ्नो कुल आम्दानीको एक चौथाई हिस्सा दान गर्ने यी महान् धनीले त्यस्तो बेलामा प्राण त्यागे, जतिबेला उनले ‘आकाशा’ नाममा नयाँ विमान कम्पनी सुरु गरेका थिए । स्पाइस जेट र जेट एयरवेजमा लगानी गरेका उनलाई विमान सेवामा ठूलो रुचि थियो ।
सेयरमात्रै होइन, मदीरा र युवतीमा पनि उनको ठूलो चाख र लगाव थियो । लामो समयदेखि मधुमेहको शिकार भएका उनी त्यसैका कारण मृगौलाको समस्यासँग लडिरहेका थिए । झुनझुनवालासँग अर्बैंको सेयर छ, त्यसमध्ये सबैभन्दा बढी होल्डिङ चाहीँ घटी र गरगहना बनाउने कम्पनी टिटान र टाटा समूहका थुप्रै कम्पनीहरुको छ । उनले सन् २००३ मा रारे इण्टरप्राइजेज सुरु गरेका थिए । आफ्नो सबैजसो पोर्टफोलियो व्यवस्थापन गर्ने यो कम्पनीको नाम उनले राशेकबाट ‘रा’ र श्रीमती रेखाको नामबाट ‘रे’ जोडेर राखेका हुन् ।
कर अधिकृतको छोरो भएर राम्रो चार्टर्ड एकाउण्टेण्ट बनेका राकेश कलेज जीवनबाटै शेयर बजारमा प्रवेश गरेका थिए । त्यो पनि सन् १९८५ मा, जतिबेला बम्बे स्टक एक्सचेञ्जको सेन्सेक्स १५० थियो । अहिले यो सेन्सेक्स ६० हजारको नजिक छ । सन् २०१८ मा ३ अर्ब डलरको मालिक बनिसकेका राकेशलाई कोभीडको धक्काले २०२० मा उनको खुद सम्पत्ती १ अर्ब ९० करोड डलरमा झारिदिएको थियो । त्यसयताको २० महिनामा उनको सम्पत्ती ३ गुणाभन्दा ज्यादा बढीसकेको छ ।
राकेशमाथि २०२० को जनवरी २८ मा ‘इनसाइडर ट्रेडिङ’को आरोप लागेको थियो । यस मुद्धामा गत वर्ष जुलाईमा भारतको धितोपत्र तथा विनिमय बोर्ड (सेबी)ले भारु ३५ करोड जरिवाना गरेको थियो । यसमध्ये १८ करोड राकेशले र ३ करोड २० लाख उनकी पत्नी रेखाले तिरेकी थिइन् ।
५ जुलाई १९६० मा हैदराबादमा जन्मिएका राकेशले आइतबार विहान मुम्बईमा अन्तिम स्वास फेरेका थिए । उनका दुई जुम्ल्याहा छोरासहित ३ सन्तान छन् ।













