१२ वटा ब्रोकरलाई २२ वटा शाखा खोल्ने अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर ब्रोकर कम्पनीहरुलाई शाखा सञ्चालनका लागि अनुमति दिएको छ । बोर्डका अनुसार हाल १२ वटा ब्रोकरले २२ वटा शाखा सञ्चालनका लागि अनुमति लिएका छन् । जसमध्ये १७ वटा शाखा तत्कालन सञ्चालनका लागि अनुमति पाएका छन् भने ५ वटाले शाखा कार्यालयको पूर्वाधार तयारी गर्ने स्वीकृति दिएको छ ।
शाखा कार्यालय स्थापनाका लागि अनुमति पाएका ब्रोकर कम्पनीमध्ये भिजन सेक्यूरिटिजले तीनवटा स्थानमा शाखा खोल्ने भएको छ । सो कम्पनीले कावासोती (नवलपरासी), बेनी (म्याग्दी), दमौली (तनहुँ) मा शाखा खोल्नका लागि अनुमति पाएको हो । त्यस्तै, अनलाईन सेक्यूरिटजले नुवाकोटको बट्टारमा शाखा खोल्ने भएको छ भने रामेछापको मन्थलीमा र मोरगंको उर्लाबारीमा पूर्वाधार निर्माणका लागि अनुमति प्राप्त गरेको छ ।
दिपशिखा धितोपत्र कारोबार कम्पनीले चितवनको टाडी र कैलालीको लम्कीमा शाखा खोल्ने भएको छ भने सिरहाको लाहान र दोलखाको चरिकोटमा पूर्वाधार तयार पार्न अनुमति पाएको छ । नेपाल स्कट हाउसले भने नुवाकोटको विदुरमा र कैलालीको टिकापुरमा शाखा खोल्ने अनुमति लिएको छ । आर्यतारा इन्भेष्टमेण्ट एण्ड सेक्यूरिटिजले पाल्पाको तानसेन र रुपन्देहीको भैरहवामा खोल्ने भएको छ । मल्ल एण्ड मल्ल स्टक ब्रोकरले पाँचथरको फिदिम र इलाममा खोल्ने भएको छ ।
त्यस्तै, सेक्यूर्ड सेक्युरिटिजले झापाको दमकमा, त्रिशुल सेक्यूरिटिजले नवलपरासीको कावासोतीमा, अक्सफोर्ड सेक्यूरिटिजले नवलपुरमा, डायनामिक मनि मानेजर्सले भरतपुरमा, दिव्या सेक्यूरिटिज एण्ड स्टक हाउसले पर्वतको कुश्मामा र जे एफ सेक्यूरिटजले तुल्सीपुरमा शाखा खोल्ने अनुमति पाएका छन् ।













