१८ श्रावण २०८३, सोमबार

पुराना जीवन बीमा कम्पनीले छाडे वैदेशिक रोजगार बीमा व्यवसाय, नयाँले बेच्दैछन् पोलिसी



काठमाडौ । सरकारले अनिवार्य गरेको वैदेशिक रोजगार म्यादी जीवन बिमा व्यवसायबाट पुराना जीवन बिमा कम्पनीहरुको हात झिकेका छन् । सो बिमा पोलिसीमा धेरै घाटा हुने भएपछि पुराना कम्पनीहरु टाढीएका हुन् ।

वैदेशिक रोजगारीमा जाने अधिकांश कामदार जोखिमपूर्ण काममा लगाईने हुँदा सरकारले वैदेशिक रोजगार बिमालाई अनिवार्य गरेको हो । कामदारको भिसा अवधि र उमेर अनुसार बिमा पोलिसीका बिमाशूल्क तोकिएको छ । कामदारले बिमाशुल्क बापत न्यूनत्तम एक हजार ५०० भुक्तानी गर्नुपर्ने हुन्छ । तर, कामदारको विदेशमा नै मृत्यू भएको अवस्थामा बिमा कम्पनीले १४ लाख रुपैयाँसम्म दाबी भुक्तानी गर्नुपर्ने हुन्छ । तसर्थ वैदेशिक रोजगार पोलिसी कम्पनीको लागि नै घाटा हुने भएपछि पुराना कम्पनीहरुले विक्री गर्न छाडेका हुन् ।

गत आर्थिक बर्ष २०७८÷७९ मा सूर्या लाइफ इन्स्योरेन्स कम्पनी, सन नेपाल इन्स्योरेन्स कम्पनी, ज्योति लाइफ इन्स्योरेन्स कम्पनी र सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले मात्रै पोलिसी विक्री गरेको छन् । समिक्षा अवधिसम्ममा चार लाख ५२ हजार ८९१ वटा वैदेशिक रोजगार बिमा पोलिसी सक्रिय छन् भने गत आवमा कम्पनीहरुले ५५ हजार ४९२ वटा पोलिसी विक्री गरेका छन् । बिमा समितिको तथ्यांक अनुसार कम्पनीहरुले एक खर्ब ८१ अर्ब १ करोड बिमांक बराबरको पोलिसी विक्री गरेका छन् । जसबापत कम्पनीहरुले १८ करोड ७० लाख बिमाशुल्क आर्जन गरेका छन् ।

पोलिसी विक्री गर्ने कम्पनीमध्ये गत आवमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा धेरै ३२ हजार ३०३ वटा पोलिसी जारी गरेको छ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले भने १४ हजार ७१५ पोलिसी विक्री गरेको छ । सिटिजन लाइफले तीन हजार ४६४ पोलिसी विक्री गरेको छ भने सूर्या नेपालले पाँच हजार १० वटा पोलिसी जारी गरेको छ ।