दुई वाणिज्य बैंकसहित पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, कुनको बोनस कति ?
काठमाडौं । मंगलबार पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज दुई वाणिज्य बैंकसहित ५ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम मौका हो ।
सो दिन सिद्धार्थ बैंक, नेपाल एसबिआई बैंक, लुम्बिनी विकास बैंक, विन्ध्यबासिनी हाइड्रोपावर र राधी विद्युतको लाभांश सुरक्षित गर्न सकिने छ ।
यी कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि अर्थात पुस १३ गते बुक क्लोज गर्ने भएका छन् । सो कारण आजसम्म कायम सेयरधनीहरुले कम्पनीहरुको साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीलाई १३.१६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको १२.६६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६६ प्रतिशत नगद लाभांश दिने भएको हो । सो प्रस्ताव पारितका लागि बैंकले पुस २८ गते साधारण सभा बोलाएको छ ।
सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर वा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ । यसका साथै पूँजी वृद्धि लगायतका विषयहरु समावेश गरी बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।
नेपाल एसबिआई बैंक
नेपाल एसबिआई बैंकले पनि भोलि बुक क्लोज गर्ने भएको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गर्ने भएको हो ।
बैंकले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीलाई कायम चुक्ता पुँजीको ३ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ सहित ७.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
सो प्रस्ताव पारितका लागि बैंकले पुस २५ गते त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा उनन्तीसौँ वार्षिक साधारण सभा डाकेको छ । यसका साथै सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु मर्जर वा एक्विजिशन सम्बन्धि सम्पूर्ण कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।
लुम्बिनी विकास बैंक
लुम्बिनी विकास बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुधवार बुक क्लोज गर्ने भएको छ । यसका आधारामा आजसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्ने छन् । बैंकले चुक्ता पूँजीको ३ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ सहित ९ प्रतिशत नगद लाभांश गरी कुल १२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । सो प्रस्ताव पारितका लागि बैंकले पुस २६ गते सभा बोलाएको छ ।
सभाले जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न र अन्य विकास बैंक वा कुनै बैंक तथा वित्तीय संस्थासँग प्राप्ति सम्बन्धी आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।
यसका साथै लेखापरीक्षक नियुक्त गर्ने, संस्थापक शेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने ३ जना तथा सर्वसाधारण शेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने, संस्थापक समूहको रिक्त स्थानमा बाँकी कार्यकालको लागि नयाँ सञ्चालकको नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्तावहरु सभाले पारित गर्नेछ ।
राधी विद्युत कम्पनी
राधी विद्युत कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले बुधवार बुक क्लोज गर्ने भएपछि आजसम्म कायम सेयरधनीले कम्पनीको लाभांश पाउनेछन् ।
कम्पनीले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीलाई कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस शेयर तथा सोको कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव गरेको छ ।
सो प्रस्ताव पारितका लागि कम्पनीले पुस २८ गते साधारण सभा बोलाएको छ । सभाले कम्पनीको नियमावली संशोधन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, वित्तीय विवरण स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।
बिन्ध्यबासिनी हाइड्रोपावर
बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका रहेको छ । कम्पनीले बुधवार बुक क्लेज गर्ने भएसंगै आजसम्म कायम सेयरधनीहरुले लाभांश पाउनेछन् ।
गत आवको मुनाफाबाट कम्पनीले आफन सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर सोको कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । सो प्रस्ताव पारितका लागि कम्पनीले पुस २२ गते छैटौँ वार्षिक साधारण सभा बोलाएको छ।
सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालक चयन गर्नेछ । यसका साथै कम्पनीको सभाले लेखापरीक्षक नियुक्त र निजको पारिश्रमिक निर्धारण लगायत लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।













