११ श्रावण २०८३, सोमबार

जीवन बीमक संघ र अर्थमन्त्रीबीच छलफल: निक्षेपमा २ प्रतिशत कम ब्याजदर दिने व्यवस्था हटाउन ध्यानाकर्षण



काठमाडौं । नेपाल जीवन बीमक संघले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसंग भेटवार्ता गरेको छ ।

संघको पदाधिकारी सहितको टोलीले अर्थमन्त्री पौडेलसंग संस्थागत निक्षेपको नाममा बीमा कम्पनीमा रहेको निक्षेपलाई दुई प्रतिशत कम ब्याजदर दिने व्यवस्था हटाउन माग गरेको छ ।

हाल नेपाल राष्ट्र बैंकले संस्थागत निक्षेप कर्ताहरुलाई साधारण निक्षेपकर्ताको भन्दा २ प्रतिशत कम ब्याज दिनुपर्ने व्यवस्था गरेको छ । सोही नीतिका कारण जीवन बीमा कम्पनीहरुको आम्दानीमा नकारात्मक प्रभाव पर्दै आएको संघले जनाएको छ । सोही अवसरमा संघले जीवन बीमा कम्पनीहरुले गाउँ गाउँमा पुगेर संकलन गरेको थोरैथारै रकमलाई देशको लागि पुँजी निर्माण गर्ने जानकारी गराएको थियो । सो कारण बीमा कम्पनीलाई हेर्ने सरकारी दृष्टिकोण बदल्नुपर्ने सघंले माग गरेको थियो ।

सघंले अर्थमन्त्री पौडेल समक्ष औपचारिक अर्थतन्त्र निर्माणमा सहयोग पर्याउन बीमाको दायरा बढाउन सुझाव दिएको थियो । संघले बीमा गराउँदा प्राप्त हुने कर छुटको दायरालाई पनि बढाउनुपर्ने माग राखेको छ । संघले बीमा गराउँदा २ लाख रुपैयाँसम्म कर छुटको सुविधाको माग राखेको हो ।

सो भेटवार्तामा अर्थमन्त्री पौडेलले बीमाक्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढ्ने बताएका छन् । उनले अर्थतन्त्रमा बीमाको महत्वपूर्ण भुमिका हुनेभन्दै आगामी दिन समन्वय सहकार्य गरेर अघि बढ्न् प्रतिवद्धता जनाएका हुन् । यसका साथै अर्थमन्त्तत्री पौडेले संस्थागत निक्षेपको ब्याजदरको विषयमा भने आफ्नो टिमसंग छलफल गर्ने, बीमा गराउँदा प्राप्त हुने कर छुटको दायरा वृद्धि लगायतका विषयमा विषेश ध्यान दिने प्रतिवद्धता गरेका छन् ।

सो भेटवार्तामा जीवन बीमक संघका निवर्तमान अध्यक्ष निर्मलकाजी श्रेष्ठ, अध्यक्ष पोषक राज पौडेल, महासचिव प्रकाशविक्रम खत्री र कोषाध्यक्ष दिनेशलाल श्रेष्ठसहितको टोली सहभागिता रहेको थियो ।