ढल निर्माणका क्रममा वनस्थली क्षेत्रमा नयाँ ठूला खानेपानी पाइपलाइनमा क्षति
काठमाडौं । आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्चीको खानेपानी वितरणका लागि विच्छ्याइएका खानेपानी वितरण प्रणालीका नयाँ ठूला पाइपलाइन र खानेपानी वितरण सञ्जालका साना पाइपलाइनमा क्षति पुग्ने गरी कुनै पनि काम नगर्न÷नगराउन पटक पटक आग्रह गर्दै आए तापनि मेलम्चीका खानेपानी पाइपलाइनमा क्षति पु¥याउने क्रम रोकिएको छैन ।
यही २०७९ साल पुस २१ गते (हिजो) मात्रै सडक विभाग, काठमाडौं चक्रपथ सडक विस्तार आयोजना अन्तर्गत चक्रपथको वनस्थली क्षेत्रमा ढल निर्माणको कार्य भइरहँदा PID बाट विच्छ्याइएका नयाँ ठूला पाइपलाइनमा क्षति पुगेको छ । काठमाडौं चक्रपथ सडक विस्तार आयोजनाले वनस्थली क्षेत्रमा ढल निर्माणका क्रममा खानेपानीका ठूला पाइपहरु रहेको चेम्बर देखिएको जानकारी गराए लगत्तै PID का आयोजना प्रवन्धक सहितको टोली र सडक विभागको टोलीले हिजै ढल निर्माण कार्यको निरीक्षण गरेको थियो ।
निरीक्षणका क्रममा खानेपानीका पाइपलाइनमा क्षति नपुग्ने गरी काम गर्न निर्देशन दिएर टोलीहरु फर्के लगत्तै निर्माण व्यवसायीका कामदारहरुले काम गर्ने क्रममा खानेपानी पाइपलाइनमा क्षति पुगेको पाइएको छ ।
पाइप फुटेर निस्किएको मेलम्चीको खानेपानी ढलबाट प्रवाह गराइएका कारण वनस्थली क्षेत्रको सडकमा पानी जम्न नपाएको स्थलगत अवलोकनबाट देखिएको छ । पाइपलाइनमा क्षति पुगेका कारण उक्त पाइपलाइनबाट कीर्तिपुरमा रहेको खानेपानी ट्याङ्कीमा हुँदै आएको मेलम्चीको खानेपानी आपूर्ति अवरुद्ध भएको छ । खानेपानी जस्तो अत्यावश्यक वस्तुलाई विनाअवरोध सुचारु गर्नका लागि PID ले आफ्नै खर्चमा पाइपलाइनको मर्मत कार्य शुरु गरेको छ । साथै, क्षतिको प्राविधिक मूल्याङ्कन गरी क्षतिपूर्ति रकम तय भएपछि काठमाडौं चक्रपथ सडक विस्तार आयोजनाबाट सोधभर्ना लिन आवश्यक प्रक्रिया अगाडि बढाइनेछ ।













