२० श्रावण २०८३, बुधबार

प्रचण्ड सरकारले विस्वासको मत पाएपछि घटेको सेयर बजार अब के होला ? चार दिनको बिदापछि खुल्ने बजारको संभावित दिशा



काठमाडौं । प्रचण्ड नेतृत्वको सरकार गठन भएपछि उकालो लागेको सेयर बजार सरकारले विस्वासको मत पाएपछि ओरालो लाग्न थालेको छ । यसले ‘कतै सेयर बजारलाई धमिलो पानीमा माछा मार्ने मौका त बनाइँदै छैन ?’ भन्ने प्रश्न उठेको छ । यसका यथेष्ट आधार नभए पनि अस्थिरता र अन्योलको समयमा नै नेपाली सेयर बजारले उचाइ चुम्ने गरेको विगतको अनुभवले देखाउँछ ।

अहिले २ वर्षका लागि सरकार स्थायित्वमा जाने लगभग निश्चित भएको छ । यस्तो बेला सेयर बजार कता जाला ? भनेर धेरै थरी अनुमानहरु भइरहेका छन् । लामो भविष्यको कुरा नगरी गत साताको समीक्षा गर्ने हो भने आगामी साताको आंशिक प्रक्षेपण गर्न सकिन्छ ।

गत साता नेप्सेका लागि पछिल्लो पटक सूचकांकले तीव्र गतिमा छलाङ मारिरहेको बृद्धिको बाटो मोड्नमा एउटा महत्वपूर्ण ‘टर्निङ प्वाइन्ट’ सावित हुँदै गएको छ । सातामा नेप्से जति बढ्यो, त्यसको झण्डै बराबर अर्थात् ९२ प्रतिशत घटिसकेको छ । यसलाई झनै नजिकबाट नियाल्ने हो भने अवस्था उल्टो देखिन्छ । ‘इन्ट्रा–डे’ ब्यापारको स्थितिले गत आइतबारको सुरुवाति विन्दुबाट नेप्से १ सय २८ अंकसम्म बढेको देखिन्छ ।

तर गत मंगलबार नै भेट्टाएको यो उच्चतम विन्दुबाट साताको अन्त्यतिर १ सय ५१ अंकसम्म घटेको देखिएको छ । यो भनेको आउँदा दिनमा पनि सेयर बजारले ओरालो यात्रा जारी राख्नसक्ने सभावनालाई बढाइरहेको छ भन्ने तथ्य हो । गत मंगलबार नेप्से ८ महिनायताकै उच्च स्तर हासिल गरेरर ओरालो लागेको थियो ।

सुरुका दुई दिनमा करीब ६८ अंक बढेको नेप्से पछिल्ला दुई दिनमा फेरी ६२ अंकभन्दा धेरै घट्न पुग्यो। नेप्सेको साप्ताहिक परिवर्तन केवल साढे ५ अंकको अन्तरमा रोकिएको छ । गत मंगलबार नेप्से २२ सय ७७ अंकसम्म पुगेर ओरालो लागेको थियो । तर विहीबारसम्म आउँदा नेप्सेले २१ सय २६ अंकमा न्यूनतम विन्दु तयार पारेको छ । यसरी हप्ताका चार दिनमात्रै कारोबार भए पनि नेप्सेको उतारचढाव भने १ सय ५१ अंकभन्दा फराकिलो बन्न पुग्यो ।

यस्तो विस्तारित उतारचढावले लगानीकर्ताहरु अस्थिर मनोविज्ञानमा रहेको देखिन्छ । सीमित खेलाडीहरुले सुस्ताउँदो अर्थव्यवस्थामा मनग्य लाभ निकाल्न सेयर बजारलाई दुरुपयोग गर्ने गरेका छन् । कमजोर नियामक र अस्थिर सरकारका कारण सेयर बजारमा खेलाडीहरुलाई यस खाले परिस्थितिको फाइदा लिन सहज हुन्छ ।

तथ्यांकले २०७८ भदौ ३ मा ३२ सय २७ अंकसम्म पुगेर ओरालो लागेको नेप्से गएको १० असारमा १८ सय ७ अंकभन्दा तल ओर्लिएको देखाउँछ । यसरी १० महिनामा १४ सय २० अंक अर्थात् लगभग ४४ प्रतिशतको गिरावटपछि नेप्सेले गएको असारबाट पुनः बढ्दो प्रबृत्ती समात्ने कोसिस गरेको थियो । त्यसयताका साढे ६ महिनामा नेप्सेले ४ सय ७० अंक अर्थात् २६ प्रतिशत बढेपछि बाटो मोडेको हो ।

गत साता करोबार रकममा भने उच्च बृद्धि भएको छ । गत मंसिर अन्तिमतिर साताभरीमा ४–५ अर्बको कारोबार हुने सेयर बजारमा गत साता ४ दिनमात्रै ब्यापार हुँदा पनि २३ अर्ब ५५ करोड हाराहारीको सेयर किनबेच भएको छ । पुसकै पहिलो हप्ताको तुलनामा अन्तिम सातामा दैनिक कारोबार नै करीब ६ गुणा बढेको देखिएको छ । गत साता ३ लाख ३८ हजार पटक करोबार हुँदा ५ करोड ६३ लाखभन्दा बढी कित्ता सेयरको किनबेच भएको थियो ।

मंगलबार बजार बन्द हुँदा ३१ खर्ब ९३ अर्ब पुगिसकेको सेयर बजारको पूँजीकरण विहीबार बेलुका ३१ खर्ब ३ अर्बमा झरेको छ । यसरी दुई दिनमै ९० अर्ब सम्पत्ती गुमाएको सेयर बजारले साप्ताहिक रुपमा भने यो स्तरको गिरावट भोग्नु परेन । अघिल्लो साताको विहीबारको तुलनामा गत विहीबार नेप्सेको बजार पूँजीकरण १ अर्ब ७० करोडमात्रै घटेको छ ।

नेप्सेको बढ्ने प्रयासमा ठूलै धक्का लागेको देखिने मौनबत्ति चित्रहरुले आउँदा दिनमा सेयर बजार ओरालो लाग्ने संभावना बढाएका छन् । अहिलेको स्थितिबाट बजार ओरालो लागेमा १९ सय ६५ देखि १८ सय ५० सम्मै झर्नसक्ने संभावना रहन्छ । लगातार चार दिन विदापछि सोमबार बजार खुल्दा कुन बाटो समात्छ भनेर हेर्न सकिने छ । यसले आउँदा दिनका लागि लगानीकर्तालाई रणनीति बनाउन पनि मद्दत पुग्ने छ ।