सिटिजन लाइफले प्रिमियममा आईपीओ जारी गर्न बाटो खुल्यो, हकप्रद सेयर मार्फत चुक्ता पुँजी बढाउँदै
सिटिजन लाइफले प्रिमियममा आईपीओ जारी गर्न बाटो खुल्यो, हकप्रद सेयर मार्फत चुक्ता पुँजी बढाउँदै
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्काशनको प्रस्ताव पारित गरेको छ ।
कम्पनीको आइतबार सम्पन्न ५औं वार्षिक साधारण सभाले सो प्रस्ताव पारित गरेको हो । अब कम्पनीले प्रिमियम मुल्यमा सर्वसाधारण सेयर सार्वजनिक निष्काशन गर्नेछ ।
सभामा सञ्चालक समितिकोे तर्फबाट अध्यक्षले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको सोही आवको वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब, इक्यूटीमा भएको परिवर्तन सम्बन्धी विवरण तथा नगद प्रवाह विवरण र सो संग सम्बन्धित अनूसुचीहरु सहितको वित्तीय विवरण छलफल गरी पारित भएको छ ।
यसका साथै सभाले कम्पनीको आव २०७८÷७९ का लागि लेखापरिक्षकमा जो जोशी एण्ड भण्डारी, चार्टर्ड एकाउन्टेन्टस्लाई नियुक्ति गरेको छ । हाल पनि कम्पनीको लेखापरीक्षकमो रुपमा सोही कम्पनीले गर्दै आएको छ ।
सोही सभाले कम्पनीको संचालनमा नियुक्त भएका दाबा फूटी शेर्पा र अभिनव जवरा र स्वतन्त्र सञ्चालक श्रीमान कार्कीको नियुक्तिलाई अनुमोदन गरेको छ ।
नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम कम्पनीले आगामी चैत मसान्तभित्र न्युनतम चुक्तापुँजी पुर्याउनका लागि भने संस्थापन सेयरधनीहरुबाट थप गर्ने भएको छ । प्राधिकरणले चैत मसान्त भित्र न्युनतम चुक्ता पूँजी ५ अर्ब पुर्याउन निर्देशन दिएको हो । सोही अनुसार नै सिटिजन लाइफले विद्यमान संस्थापन सेयरधनीहरुसँग ५० प्रतिशत थप पूँजी आह्वान गरेर २ अर्ब ६२ करोड ५० लाख रुपैयाँ पुर्याउने भएको छ ।













