१० श्रावण २०८३, आइतबार

५ खर्ब पुग्यो ‘जीवन बीमा कोष’को आकारः नेपाल लाइफ र एलआईसीको सबैभन्दा ठुलो, अन्यको अवस्था कस्तो ?

५ खर्ब पुग्यो ‘जीवन बीमा कोष’को आकारः नेपाल लाइफ र एलआईसीको सबैभन्दा ठुलो, अन्यको अवस्था कस्तो ?



काठमाडौं । जीवन बीमा कम्पनीहरुको बीमा कोषको आकार ५ खर्ब पुगेको छ । चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

चालु आवको पुस मसान्तसम्ममा १८ वटा जीवन बीमा कम्पनीहरुको बीमा कोषको आकार ४ खर्ब ९९ अर्ब ६० करोड ७८ लाख रुपैयाँ पुगेको छ । यो गत वर्षको तुलनामा २९.१५ प्रतिशतले बढेको हो । गत वर्षको सोही अवधिमा ३ खर्ब ८६ अर्ब ८१ लाख ८२ लाख ९० हजार रुपैयाँ रहेको थियो ।

चालु आवको ६ महिनामा सबैभन्दा ठुलो जीवन बीमा कोष नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देखिएको छ । चालु आवको पुस मसान्तसम्ममा कम्पनीले सो कोषमा १ खर्ब ५० अर्ब ८५ करोड ६४ लाख ८२ हजार रुपैयाँ राखेको छ । कम्पनीको यो कोषका आकार गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने २०.८४ प्रतिशतले बढी हो। गत वर्षको सोही अवधिमा कम्पनीको यो कोषमा १ खर्ब २४ अर्ब ८३ करोड ९३ लाख ५४ हजार रुपैयाँ रहेको थियो ।

दोस्रो स्थानमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)को भने जीवन बीमा कोषमा १ खर्ब १ अर्ब २१ करोड ४६ लाख ७४ हजार रुपैयाँ राखेको छ । एलआईसीले गत वर्षको पुस मसान्तसम्मको तुलनामा भने यो कोषको आकार १७.०२ प्रतिशत बढाएको हो ।

यस्तै, तेस्रो स्थानमा नेशनल लाइफ देखिएको छ । कम्पनीले बीमा कोषको आकार ९१.१४ प्रतिशतले बढेर ५६ अर्ब १५ करोड ९१ लाख ३४ हजार रुपैयाँ पुगेको छ । गत वर्षको पुस मसान्तसम्ममा कम्पनीको यो कोषमा २९ अर्ब ३७ करोड ९८ लाख ९५ हजार रुपैयाँ रहेको थियो ।

सो अवधिमा सबैभन्दा कम बीमा कोष महालक्ष्मी लाइफ र मेट लाइफ इन्स्योरेन्सको देखिएको छ । चालु आवको पुस मसान्तसम्ममा यी दुवै कम्पनीहरुको यस्तो कोषमा क्रमशः २ अर्ब ४० करोड ४२ लाख २८ हजार रुपैयाँ र २ अर्ब ७५ अर्ब ६७ करोड ६२ लाख रुपैयाँ रहेको छ ।

यस्तै, सो अवधिमा राष्ट्रिय बीमा संस्थानको जीवन बीमा कोषमा ४५ अर्ब ९१ करोड २० लाख, एशियन लाइफको ३४ अर्ब ८० करोड ९९ लाख, सूर्यज्योतिको २३ अर्ब ६ करोड २९ लाख, प्राइम लाइफको २० अर्ब ७६ करोड ५५ लाख, गुराँसको १३ अर्ब ६५ करोड ३२ लाख र युनियन लाइफको १३ करोड २४ लाख रुपैयाँ रहेको छ ।

त्यसैगरि, सिटिजन लाइफको जीवन बीमा कोषमा ७ अर्ब ५९ करोड ४६ लाख, रिलायवल नेपालको ५ करोड ६२ लाख, आइएमई लाइफको ५ अर्ब ४७ करोड ९४ लाख, रिलायन्सको ४ अर्ब २५ करोड ३३ लाख, सन नेपालको ४ अर्ब २४ करोड ४८ लाख, सानिमाको ४ अर्ब ८ करोड ५३ लाख र प्रभु लाइफको ३ अर्ब ४७ करोड ७८ लाख रुपैयाँ रहेको छ ।

कुनको जीवन बीमा कोषमा कति ?