ब्रोकर शाखा खोल्न बाटो खुल्यो: चुक्ता पुँजी प्रतिशाखा डेढ करोड तोकियो, अन्य व्यवस्था के-के ?
काठमाडौं । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) ले शाखा कार्यालय खोल्दा डेढ करोड चुक्ता पुँजी कायम गर्नुपर्ने भएको छ ।
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले जारी गरेको धितोपत्र दलाल व्यवसायीले शाखा खोल्ने सम्बन्धी निर्देशिका, २०७९ ले यस्तो व्यवस्था गरेको हो ।
ब्रोकरहरुले अब छुट्टाछुट्टै स्थानमा पनि आफ्नो शाखा खोल्न पाउने छन् । दोस्रो बजारको पहुँचलाई पनि विकास र विस्तार गर्न आवश्यक रहेको भन्दै ब्रोकरहरुलाई नयाँ शाखा खोल्न पाउने व्यवस्था गरेको बोडले जनाएको छ । तर, शाखा कार्यालय खोल्दा प्रतिशाखा १ करोड ५० लाख रुपैयाँ दरले चुक्ता पुँजी कायम गर्नुपर्ने सेबोनले जनाएको छ ।
मुख्य कार्यालय रहेको जिल्लामा अर्को शाखा कार्यालय संचालनका लागि भने स्वीकृति नदिने व्यवस्था रहेको निर्देशनमा उल्लेख छ । नेपाल सरकारले तोकेको दुर्गम जिल्लामा थप शाखा कार्यालय खोल्नका लागि बोर्डले स्वीकृति दिने सक्नेछ ।
धितोपत्र दलाल व्यवसायीले काठमाडौं उपत्यका बाहिर कम्तीमा तीन वटा शाखा खोलेपछिमात्र काठमाडौं उपत्यका भित्र शाखा खोल्न सक्नेछन् ।
नयाँ शाखा कार्यालय खोल्न चाहाने ब्रोकरको नेटवर्थ भने चुक्ता पुँजीभन्दा बढी हुनुपर्ने र नेटवर्थ सम्वन्धी विवरण नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट सदस्यता प्राप्त प्रमाणित भएको हुनुपर्ने बताइएको छ ।













