मिथिलाञ्चलको होली: महामुर्ख सम्मेलनदेखि चौपट्टमुर्खसम्म घोषणा गर्ने उत्सव - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

मिथिलाञ्चलको होली: महामुर्ख सम्मेलनदेखि चौपट्टमुर्खसम्म घोषणा गर्ने उत्सव



आरजी बिद्रोही

काठमाण्डौं । फागगुपूर्णिमा, रंगहरुको पर्व । विजय र मुक्तिको उत्सव । यस्तै अनेकन नाम र उपमाले हिन्दू समाजदेखि विश्वभर यसलाई मनाइन्छ । तर, नेपालको मिथिला क्षेत्र अर्थात् तराइमा मनाइने होली देशको अन्यत्र भागभन्दा फरक छ अनि रोचक पनि । जहाँ रंगहरुको रंगिन र खुशीको वर्षासँगै मुर्खहरुको सम्मेलन गरी महामुर्ख घोषणा गरिन्छ ।

मिथिला नगरी जनकपुरधाममा मनाइँने होली महोत्सवको प्रमुख आकर्षण मध्ये एक हो महामूर्ख सम्मेलन । विगत डेढ दशक देखि होली पर्वसँगै हुँदै आएको महामुर्ख सम्मेलनको तयारी यस वर्ष पनि गरिएको छ । जनकपुरधाममा २०६१ सालदेखि हुँदै आएको महामूर्ख सम्मेलनमा महामुर्ख खोजीका लागि भोलि मंगलवार जानकी मन्दिरमा विशेष महोत्सव आयोजना गरिदैं छ ।
झण्डै २ दशकदेखि जनकपुरधाममा मिथिला नाट्यकला परिषद्ले होलीको अवसरमा महामुर्ख सम्मेलनको आयोजना गर्दै आएको छ ।

महामुर्ख सम्मेलनमा लब्धप्रतिष्ठित व्यक्तिलाई महामुर्खको उपाधि प्रदान गरिन्छ । महामुर्ख हुनेलाई समाजमा उच्च व्यक्तित्व मानिन्छ । विभूषित गरिने उपाधिहरु महामुर्ख, पटमुर्ख , चौपटट्मुर्ख, मुर्खानन्द र मुर्खाधिश लगायत छन् । विभूषित हुनेहरुलाई काउली, फर्सी, खुर्सानी, आलु लगायत विभिन्न तरकारीहरूको माला लगाइने गरिन्छ ।

अन्य बेला महामुर्ख भन्दा समेत कुटाकुट गर्नेहरु होलीको अवसरमा त्यस्ता विभूषणहरु पाएर दङ्ग पर्छन् । महामुर्ख सम्मेलनपनि होलीको एउटा अङ्ग बनेको परिषद्का पुर्वअध्यक्ष परमेश्वर झा बताउँछन् । झा भन्छन्ः ‘महामुर्ख सम्मेलनमा कथा–कविता वाचनले समाज र राजनीतिक विकृतिमाथि व्यङ्ग गर्छ ।

यस वर्ष महामुर्खको उपाधी कसले पाउने होला भनेर अड्कलबाजी समेत चल्न थालेको छ । यो महामुर्ख सम्मेलनबाट अहिले सम्म मधेश प्रदेशका मुख्यमन्त्री देखि लिएर राजनीतिज्ञ, साहित्यकार लगायतकाले पाइसकेको उपाधि यस वर्ष कसले पाउने भन्नेमा चासो बढेको छ ।

गत वर्ष २०७८ को महामुर्ख उपाधि मधेस प्रदेश सरकारका नीति तथा योजना आयोगका उपाध्यक्ष डा भोगेन्द्र झालाई प्रदान गरिएको थियो । त्यसैगरी प्रदेशसभा सदस्य मञ्जु यादवलाई अदलबदली, नेपाली कांग्रेसका नगर उपसभापति राकेश विक्रम साहलाई टिटही, मिथिला चित्रकार मनिषा साहलाई गन्हकी, मिथिला वाइल्डलाइफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डललाई हराशङ्ख, नेपाल पत्रकार महासङ्घ धनुषा शाखा अध्यक्ष मनिका झाले दिलतोरियाको उपाधि पाएका थिए ।

यस्तै अधिवक्ता सुदीप कोइरालालाई गोबर गणेश, गिद्धाबेलापट्टी विद्यालयका प्रधानाध्यापक पवन मण्डललाई डपोर शङ्ख, वरिष्ठ कलाकार रामरेखा पण्डितलाई बज्रकिट, जनकपुरधाममा मिथिला चित्रकलालाई सुरुआत गरेकी मिथिलेश्वरी कर्णलाई लालबुझ्क्कड, व्यवसायी अभिशेष चौधरीलाई बोतलानन्द र जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रद्युम्न उपाध्यायलाई वैशाखनन्दनको उपाधि दिइएको थियो ।

मिथिलाञ्चलको होलीः फरक दिन, शैली र मान्यतामा रङ्गको पर्व

फागु पूर्णिमाका रुपमा समेत बुझिने होली नेपाल र भारतको भूभाग समेटिएको मिथिला बृहत्त परिक्रमा क्षेत्रमा पूर्णिमाका दिन पर्दैन, त्यसको भोलिपल्ट पर्छ । त्यसका दुई कारण छन्ः पहिलो, पूर्णिमाको दिन जनकपुरधामको परिक्रमा गरिने भएकाले मदिरा र मासु सेवन वर्जित हुन्छ ।

दोस्रो, पूर्णिमाको दिन १५ दिने परिक्रमाको समापन दिन हो र मिथितावासीहरू परिक्रमाले थकित भएका हुन्छन् । यो मदनोत्सव हो । अनि यसमा मानिसहरु मदमत्त हुन्छन । वसन्त पञ्चमीको दिनदेखि डंफ र मजीराका साथ होलीका गीत गाउने होलैताहरु तयार हुन्छन् । यो क्रम फागुन पूर्णिमाको भोलिसम्म चल्छ । पूर्णिमाको राति होलीका गीतहरु (फागु) गाउँदै होलिका दहन गरिन्छ र भोलिपल्ट फागु मनाइन्छ ।

फागुका दिन रङ्ग–अबिर खेलेर बेलुका होलिका दहन गरिएको स्थानमा गएर खरानी उडाउँदै ’जे जीवे से खेले फागु जे मरे से लेखा ले’ भन्दै त्यहाँबाट ’चैतावर’ गीत (चैत महिनाको गीत) गाउँदै फर्किने गरिन्छ । पहिले पहिले गाउँघरमा दुध र मसलामिश्रित भाङ तयार हुन्थ्यो ।

होलैता समूहमा प्रत्येक टोलको मानिसहरू सहभागी हुन्थे र उनीहरू घरघरमा पुगेर होली गीत गाउने गर्थे । होलैतालाई भाङ, अबिर, पान र मसालेदार सुपारी प्रदान गरी विदा गरिन्थ्यो । भाङलाई अहिले मदिराले विस्थापित गरेको छ ।

तराईका जिल्लामा फागु पूर्णिमाको भोलिपल्ट मनाइने होलीमा पहिला भगवानलाई रङ्ग चढाएर र आफ्ना परिवारका सदस्यसँग रङ्ग लगाएपछि आफन्त र छिमेकीसँग खेल्ने गरिन्छ ।

रङ्ग, अबिर र धुलो

होली रङ्ग अबिरको पर्व हो ।

फागुको धार्मिकभन्दा पनि सांस्कृतिक महत्व रहेको छ । होलीमा रङ्ग र अबिरसँगै धुलो पनि उडाइन्छ ।

प्राध्यापक परमेश्वर कापडीले भन्छन्ः “रङ्ग अबिरको खेलसँगै धुरखेल (धुलो उडाउने खेल) पनि मिथिलामा हुन्छ ।
विसंगतिहरुलाई उडाउँदै नयाँ वर्षको सुखद शुभारम्भ होलीको दिनबाट हुन्छ ।

होलीले समाजमा आपसी रिस, द्वेष र वैमनस्यताहरूलाई बिर्साएर सदभाव र मेलमिलापका साथ अगाडि बढाउने मान्यता छ ।
होली प्रारम्भ भएदेखि गाइने गीत र होली सकिएपछि गाइने गीतमा धेरै भिन्नता देखिन्छ ।

डा. रेवतीरमण लालले होलीमा होलिका दहनको कुनै प्रसंग नरहेको बताउँछन् । उनले भने, ‘होलिका दहनको खुशियाली मनाउन होली खेलिएको होइन। होलीमा होलिकारूपि विकृतीको दहन गरिने भनिएपनि यो कहिलेदेखि फागुमा जोडियो, त्यसको यकिन छैन ।

Tags :

प्रतिक्रिया दिनुहोस्