१९ भदौ २०८३, शुक्रबार

गौरा पर्वको रौनकमा सुदूरपश्चिम, आज मुख्य दिन अठवाली मनाइँदै



काठमाडौँ। सुदूरपश्चिम प्रदेशमा परम्परा र सांस्कृतिक महत्व बोकेको सुदुरपश्चिमेलीहरुको महान चाँड गौरा पर्वको रौनको बढेको छ। भदौ शुक्ल पञ्चमीबाट सुरु भएको पर्वको मुख्य दिन अठवाली अर्थात् अष्टमी आज विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमसहित मनाइँदैछ।

दार्चुला, बैतडी, डडेल्धुरालगायत पहाडी जिल्लामा गौरा पर्वका अवसरमा विशेष पूजाआजा गरिँदैछ। स्थानीय गौरा मन्दिर तथा धार्मिकस्थलमा पूजापछि जात्रा निकाल्ने परम्परा छ। कैलाली र कञ्चनपुरमा रहेका पहाडी समुदायले पनि गौरा देवीको स्थापना गरिएका स्थानमा भेला भएर सामूहिक रूपमा यो पर्व मनाइरहेका छन्।

भारतको उत्तराखण्डमा पनि गौरा पर्व

सुदूरपश्चिमको मौलिक पहिचानसँग जोडिएको गौरा पर्व सीमापार भारतको उत्तराखण्डस्थित कुमाउ र गढवाल क्षेत्रमा समेत विभिन्न धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार मनाउने गरिन्छ।

पर्वको अवसरमा रोजगारी तथा अन्य कामका लागि भारत र अन्य मुलुक पुगेका धेरै मानिस घर फर्किएपछि गाउँघरमा चहलपहल थपिएको छ। आफन्त र समुदायसँग भेटघाट गर्दै पर्व मनाउने गरिन्छ।

बिरुडा भिजाएर सुरु हुन्छ गौरा

गौराको सुरुआत भदौ शुक्ल पञ्चमीबाट हुन्छ। यस दिन महिलाहरूले व्रत बसेर केराउ, गहत, गहुँ, मास र गुरौसजस्ता पाँच प्रकारका अन्न मिसाएर तामाको भाँडामा बिरुडा भिजाउने चलन छ। यही परम्पराका कारण पञ्चमीलाई ‘बिरुडा पञ्चमी’ पनि भन्ने गरिन्छ।

पञ्चमीमा भिजाइएको बिरुडा षष्ठीका दिन नजिकको धारा, पोखरी वा तलाउमा लगेर धुने परम्परा छ। सप्तमीमा गौरा देवीलाई मठमन्दिरमा भित्र्याएर पूजा गर्ने तथा विवाहित महिलाले दुवधागो चढाउने धार्मिक विधि पूरा गर्छन्।

अष्टमीमा गौरा पूजा र देउडाको विशेष आकर्षण

अठवाली अर्थात् अष्टमीका दिन व्रत बसेर गौरा खला भनिने खुला स्थानमा शिव र पार्वतीको पूजा आराधना गर्ने गरिन्छ। यस दिनलाई ‘दुर्वाष्टमी’का रूपमा समेत चिनिन्छ।

गौरा पर्वको प्रमुख सांस्कृतिक आकर्षण देउडा हो। देउडामा धार्मिक तथा पौराणिक प्रसंग, देवीदेवताका गाथा र स्थानीय जीवनसँग जोडिएका विषय प्रस्तुत गरिन्छ। चैतली, धुमरी र ढुस्कोलगायतका परम्परा गीतहरु पनि गौरामा गाइन्छन्।

देउडा मनोरञ्जनमा मात्र सीमित छैन। यसमार्फत सामाजिक विकृति, समसामयिक राजनीतिक अवस्था र समाजका विभिन्न विषयमाथि व्यङ्ग्य तथा टिप्पणी गर्ने समेत गरिन्छ। सुख–दु:ख साटासाट गर्ने, आपसी सम्बन्ध बलियो बनाउने र सामाजिक सद्भाव कायम गर्ने माध्यमका रूपमा पनि देउडाको विशेष महत्व छ। गौरामा धेरै मानिसहरु एक ठाउँमा जम्मा भएर सुखदुख साट्ने चलनका कारण सुदुरपश्चिममा गौरामा व्यवसायिक गतिविधी समेत बढ्ने गर्दछन् ।

आजै श्रीकृष्णजन्माष्टमी पनि

यसैबीच आज वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक मनाउँदैछन्। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।

यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेषगरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ।