१० श्रावण २०८३, आइतबार

सानिमा रिलायन्स लाइफको सीईओमा पाण्डे, दुई वर्ष बढी समयपछि बीमाक्षेत्रमा फर्किए

सानिमा रिलायन्स लाइफको सीईओमा पाण्डे, दुई वर्ष बढी समयपछि बीमाक्षेत्रमा फर्किए



काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) शिवनाथ पाण्डे बनेका छन् ।

पाण्डे सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स एक आपसमा गाभिएर बनेको सानिमा रिलायन्सको सीईओ बनेका हुन् । यी दुवै कम्पनी मर्जरमा गई सानिमा रिलायन्स लाइफको नामबाट गत बिहीबारदेखि एकीकृत कारोबार सुरु गरेको छ ।

उनलाई दुवै कम्पनीको मर्जर कमिटीले सानिमा रिलायन्सको सीईओमा नियुक्ति गर्न प्राधिकरणमा सिफारिस गरेको थियो । राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश लिएका पाण्डे यसअघि सूर्या लाइफ इन्स्योरेन्सको सीईओ बनिसकेका व्यक्ति हुन् ।

दुई वर्षभन्दा लामो समयपछि शिवनाथ पाण्डे बीमा क्षेत्रमा फर्किने भएका हुन् । साविकको सूर्य लाइफ इन्स्योरेन्सको सीईओबाट राजिनामा दिएपछि खाली बसेका उनी अहिले फेरि बीमा क्षेत्रमै फर्किन लागेका हुन् । पाण्डेले यस बिचमा प्रभु बैंकसँग मर्जर भएको सेन्चुरी बैंकको सीईओ बन्न खोजेका थिए ।

चाटर्ड एकाउन्टेन रहेका पाण्डे नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश पाएपछि सूर्या लाइफमा नियुक्त भएका थिए । पाण्डेले सूर्या लाइफमा कार्यकाल सकिन तीन महिना बाँकी छँदै राजीनामा दिएका थिए ।

पाण्डे जीवन बीमा कम्पनीहरूको छाता सङ्गठन जीवन बिमक सङ्घका संस्थापक अध्यक्ष समेत हुन् । त्यसअघि जीवन र निर्जीवन बीमा कम्पनीका सीईओहरुको एउटै मात्र क्लब भएकोमा पाण्डेले जीवन बीमा कम्पनीका सीईओको अलग्गै संस्था बनाउने नेतृत्व लिएका थिए ।

त्यसो त, पुरानो एकीकृत संस्थाको अध्यक्ष शिखर इन्स्योरेन्सका सीईओ दीपप्रकाश पाण्डे भएकाले पनि जीवन बीमा कम्पनीका सीईओहरुको अलग्गै संस्था जन्मिएको हो ।