१० श्रावण २०८३, आइतबार

लघु जीवन बीमा व्यवसायमा तातिए पुराना ठुला कम्पनी: ६००%ले बढाए विजनेश, ४१ लाख पोलेसी सक्रिय

लघु जीवन बीमा व्यवसायमा तातिए पुराना ठुला कम्पनी: ६००%ले बढाए विजनेश, ४१ लाख पोलेसी सक्रिय



काठमाडौं । लघु जीवन बीमा व्यवसाय विस्तारमा कम्पनीहरु आक्रमक देखिएका छन् । नेपाल बीमा प्राधिकरणले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को आठ महिनाको तथ्याङ्कले यस्तो देखाएको हो ।

चालु आवको फागुन मसान्तसम्ममा लघुबीमा व्यवसाय गर्ने जीवन कम्पनीहरुले कुल १ अर्ब ६४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जुन गत आवको फागुन मसान्तसम्मको तुलनामा भने ६०० प्रतिशतले बढी हो । गत आवको समिक्षा अवधिमा कम्पनीहरुले २३ करोड ३९ लाख ८८ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए ।

चालु आवको आठ महिनामा ४१ लाख ५ हजार ७५५ बीमालेख सक्रिय देखिएका छन् । गत आवको फागुन मसान्तसम्ममा भने २० लाख ८० हजार ८११ लघु जीवन बीमालेख सक्रिय रहेको थियो ।

नयाँ लघुबीमा कम्पनी आउने भएपछि पुराना ठुला कम्पनीहरु व्यवसाय बढाउन तातिएका हुन् । नेपाल बीमा प्राधिकरणको तथ्याङ्कले पनि यसको पुष्टि गर्छ । यसअघि लघुबीमामा खास राम्रो हुन् सकिरहेको थिएन । पुराना ठुला कम्पनीहरुले लघुबीमा व्यवसायमा आक्रामक बनाएको देखिन्छ ।

नेपालमा लघुबीमा संचालनका लागि प्राधिकरणले छुट्टै कम्पनीहरुले स्थापना गर्न लाईसेन्स दिएको छ । नयाँ लघुबीमा कम्पनीहरुले आउने भएपछि व्यवसाय बढाएको विज्ञहरुले जनाएका छन् । प्राधिकरणले केही महिना अघि मात्र ७ वटा लघुबीमा कम्पनीलाई लघुबीमा व्यवसाय गर्न कम्पनीहरु छनोट गरि लाइसेन्स दिएको छ । प्राधिकरणले जीवनतर्फ ३ र निर्जीवनतर्फ ४ वटा कम्पनी गरी कुल ७ वटालाई लाइसेन्स दिएको थियो ।

लघु जीवन बीमा कम्पनीतर्फ गार्डियन माइक्रो लाइफ इन्स्योरन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले लघुबीमा रहेका छन् । त्यस्तै, लघु निर्जीवनतर्फ ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी, नेपाल माइक्रो इन्स्योरेन्स, स्टार माइक्रो इन्स्योरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सलाई प्राधिकरण लाइसेन्स दिएको छ । यद्यपि, लाइसेन्सको अनुमति पाएपनि कम्पनीहरुले व्यवसायिक कारोबार भने थालनी गरेका छैनन् । नेपाल जस्तो विकासोन्मुख मुलुकका लागि न्युन आय वर्गका व्यक्तिहरुको जीवनस्तर उकास्न लघुबीमा व्ययवसायले प्रभावकारी भुमिका खेल्ने विज्ञहरुको भनाई छ ।

मासिक साढे २० करोड लघुबीमा व्यवसाय वृद्धि

कम्पनीहरुले मासिक औषत साढे २० करोड रुपैयाँले व्यवासय बढाएका छन् । बीमा प्राधिकरणको तथ्याङ्क अनुसार कम्पनीको लघु जीवन बीमा मासिक २० करोड ५० लाख रुपैयाँ बढेको देखिएको हो ।

चालु आवको पहिलो महिना अर्थात साउनमा १५ करोड २६ लाख ७३ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । सो महिनामा कम्पनीहरुले कुल ३६ लाख ४७ हजार २०७ बीमालेख बिक्री गरेका थिए ।

गत माघ मसान्तसम्ममा भने लघु जीवन बीमा मार्फत कम्पनीहरु १ अर्ब ४३ करोड ४१ लाख ७६ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए । माघ मसान्तसम्मा ४४ लाख ८९ हजार ८२८ बीमालेख बिक्री गरेका छन् ।

यस्तै, पुस मसान्तसम्ममा १ अर्ब १८ करोड २९ लाख ३२ हजार रुपैयाँ, मंसिरमा ९५ करोड ३१ लाख १९ हजार, कात्तिकमा ७७ करोड ५ लाख ४१ हजार, असोजमा ५७ करोड ८३ लाख ८१ हजार रुपैयाँ बीमा शुल्क संकलन उठाएका थिए ।

यी महिनामा कम्पनीहरुको सक्रिय बीमालेखको संख्या क्रमशः ४३ लाख ८६ हजार ३५४, ४३ लाख ५७ हजार ८६, ४३ लाख ८ हजार २७० र ४० लाख ७५ हजार ७७३ रहेको छ ।

यस्तै, गत भदौ महिनामा भने कम्पनीहरुले ३८ करोड ९६ लाख ४१ हजार रुपैयाँ लघुबीमा मार्फत बीमा शुल्क संकलन गरेका थिए । सो महिनासम्मका सक्रिय बीमालेखको संख्या भने ४१ लाख ५२ हजार ८२ रहेको थियो ।

स्रोतः नेपाल बीमा प्राधिकरण

कुन प्रदेशबाट कति बीमा शुल्क ?

चालु आवको आठ महिनामा लघु जीवन बीमा मार्फत सबैभन्दा धरै बीमा शुल्क बागमति प्रदेशबाट संकलन भएको छ ।सो अवधिमा बागमतीबाट १ अर्ब १८ करोड ५० लाख ६७ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । सो प्रदेशमा लघु जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुले कुल ३१ लाख ६६ हजार ५६१ वटा बीमालेख बिक्री गरेका छन् ।

दोस्रो स्थानमा रहेको लुम्बिनी प्रदेशबाट भने लघु जीवन बीमा व्यवसायबाट कुल १३ करोड १३ लाख ३९ हजार रुपैयाँ बीमा शुल्क उठाएका छन् । कम्पनीहरुको लुम्बिनीमा सक्रिय लघु जीवन बीमालेखको संख्या भने २ लाख २१ हजार ९४९ वटा रहेको छ ।

तेस्रो स्थानमा कोशी प्रदेश रहेको छ । कोशी प्रदेशबाट कुल १२ करोड ७९ लाख १७ हजार रुपैयाँ बीमा शुल्क उठेको छ । सो प्रदेशमा लघु जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुको १ लाख ११ हजार ८१३ वटा बीमालेख सक्रिय देखिएको छ ।

चालु आवको आठ महिनामा सबैभन्दा कम बीमा शुल्क कर्णाली प्रदेशबाट संकलन भएको छ । सो प्रदेशमा लघु जीवन बीमा मार्फत १ करोड ५७ लाख ९५ हजार रुपैयाँ बीमा शुल्क संकलन भएको हो । कर्णाली प्रदेशमा सक्रिय लघु जीवन बीमालेखको संख्या भने १६ हजार ९४३ रहेकोछ ।

यस्तै, गण्डकी प्रदेशबाट १० करोड ३८ लाख ६१ हजार रुपैयाँ, सुदुरपश्चिमबाट ५ करोड ५० लाख ८४ हजार र मधेश प्रदेशबाट २ करोड ९ लाख ३८ हजार बीमा शुल्क आर्जन भएको छ । यी प्रदेशहरुमा सक्रिय लघु जीवन बीमालेखको संख्या भने क्रमशः २ लाख ५७ हजार ५१०, १ लाख ५२ हजार ६६५ र १ लाख ७८ हजार ३१४ रहेको छ ।