नेपाली बजारमा सिट्रोनले ल्यायो नयाँ सी ३, कति पर्छ मूल्य ?
काठमाडौं । नेपालका लागि सिट्रोनको आधिकारिक वितरक सांग्रिला मोटर्सले बहुप्रतिक्षित नयाँ सिट्रोन सी ३ नेपाली बजारमा ल्याएको छ । ३४ लाख ४९ हजारको सुरुवाति मूल्यमा नयाँ सिट्रोन सी ३ नेपाली बजारमा आएको हो ।
भारतमा निर्मित सिट्रोन सी ३ एक कम्प्याक्ट एसयुभी हो जसले नेपालका युवा र फरक गाडीको चाहना राख्ने ग्राहकहरूको मन उक्त नयाँ सिट्रोन सी ३ तान्न सक्नेछ । सांग्रिला मोटर्सका निर्देशक हेमन्त गोल्छाले नयाँ सिट्रोन सी ३ लन्च कार्यक्रममा बोल्दै उक्त गाडिले उत्कृष्ट बजार पाउने विश्वास ब्यक्त गरे । सिट्रोनको बहुपतिक्षित नयाँ मोडल अब नेपालका पाँच सहरका शोरुममा उपलब्ध रहेको गोल्छाले बताए । नयाँ सी ३ बिर्तामोड, इटहरी, नारायणघाट, बुटवल र काठमाडौ गरी नेपालका पाँच प्रमुख सहरहरूमा रहेका सिट्रोनका आधिकारिक शोरुमहरूमा टेस्ट ड्राइभ र बिक्रीको लागि उपलब्ध रहेको छ ।

सिट्रोन सी ३ नेपाली बजारमा २ भेरियन्टमा उपलब्ध रहेका छन् । पि. लाइभको मूल्य ३४ लाख ४९ हजार रुपैयाँ रहेको छ भने पि. फिल भाइब प्याकको ३६ लाख ४९ हजार रुपैयाँ रहेको छ । आकर्षक डिजाइनमा बनाइएको सिट्रोन सी ३, ख्याती प्राप्त वर्ल्ड अर्बन कार–२०२३ अवार्ड पाउन सफल भएको थियो । विश्वका ३२ देशहरुका १०० भन्दा बढी अन्तर्राष्ट्रिय अटोमोटिभ पत्रकारहरुले मत राख्ने उक्त प्रतिस्पर्धामा जित्न सफल सिट्रोन सी ३ ले नेपाली बजारमा पनि राम्रो गर्ने आशा कम्पनीले राखेको छ ।

“हामी नेपालका हाम्रा ग्राहकहरुलाई नयाँ सिट्रोन सी ३ प्रस्तुत गर्न पाउँदा गर्व गर्छौं । हरेक क्षेत्रको प्रयोगका लागि सोही क्षेत्रमा घ उत्पादन गर्नुपर्छ भन्ने मान्यता राख्ने स्टेलान्टिस आसियान क्षेत्रको लागि नयाँ सी ३ भारतमा बनाएको छ । यस उत्पादन मार्फत हामी यो ठाउँ र परिवेश अनुरूपको उत्पादन मार्फत आसियानमा आफ्नो उपस्थिति बढाउन प्रतिबद्ध छौं” नादिया कमरुदिन, स्टेलान्टिसका लागि आसियानका ग्राहक अनुभव निर्देशक तथा जेनेरल डिस्ट्रिव्यूटरले भने ।

नयाँ सी ३ मा ट्रपिकलाइज्ड एयर कन्डिसनर, मनोरम बाहिरी दृश्य हेर्न मिल्ने आरामदायी भित्री भाग र वायरलेस एन्ड्रोइड अटो र एप्पल कनेक्टिभिटी भएको १० इन्चको इन्फोटेनमेन्ट टचस्क्रिन जस्ता सुविधाहरू छन् । यसमा न्याचुरल्ली एस्पिरेटेड १.२ लिटर पेट्रोल इन्जिन छ जसले ८१ बीएचपी र ११५ एनएम टर्क उत्पादन गर्दछ । सी ३ मा ५–स्पीड म्यानुअल ट्रान्समिसन गियरबक्स रहेको छ ।
ग्राहकहरूको सहजता र खरिद पश्चातको मानसिक शान्तिको लागि सिट्रोनले सी ३ मा वारेन्टी कार्यक्रम पनि राखेको छ । यो वारेन्टी कार्यक्रमले दुई वर्ष अथवा ४०,००० किलोमिटरको दुरीसम्म सवारी साधनको हेरचाह र स्पेयर पार्टसलाई समेटेको छ । ग्राहकले काठमाडौंको सितापाइला स्थित सिट्रोनको सेवा केन्द्रबाट गुणस्तरीय सेवा र मर्मत सम्भारको फाइदा लिन सक्नेछन् ।















