१० श्रावण २०८३, आइतबार

हिमालयन लाइफको नामबाट बैशाख २६ गतेदेखि एकीकृत कारोबार: अध्यक्षमा अग्रवाल, सीईओमा कर्ण



काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको नाममा एकीकृत कारोबार गर्न मिति तय भएको छ ।

युनियन लाइफ, प्राइम र गुराँस लाइफ इन्स्योरेन्स एक आपसमा मर्ज भई बन्न लागेको हिमालयनको नामबाट यही बैशाख २६ गतेदेखि एकीकृत कारोबार गर्ने भएका हुन् ।

मर्जपछि बन्ने नयाँ कम्पनीको कर्पोरेट कार्यालय हाल प्राइम लाइफको केन्द्रीय कार्यालय काठमाडौंमा रहने छ । यी तीनै वटा कम्पनीहरुलाई एक आपसमा मर्जरमा जान नेपाल धितोपत्र बोर्डबाट बैशाख १९ गते अनुमति पाएको थियो । यस्तै, नेपाल बीमा प्राधिकरणबाट बैशाख १३ गते अन्तिम स्वीकृत पाएको थियो ।

मर्जपछि बन्ने नयाँ कम्पनीको संचालक समितिको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सीईओ) युनियन लाइफबाट बन्नेछन् । सहमति अनुसार नयाँ कम्पनीको सीईओमा युनियन लाइफ सीईओ मनोजलाल कर्ण र अध्यक्षमा युनियन लाइफका सुलभ अग्रवाल रहनेछन् ।

गुराँस लाइफ र प्राइम लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरु वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेछन् । कम्पनीको तीन कम्पनी एक भएपछि चुक्ता पुँजी साढे ७ अर्ब बढी हुनेछ ।

यी तीनै वटा कम्पनी १ः१ः१ को अनुपातमा मर्जरमा जान लागेका हुन् । गत बैशाख २९ गते मर्जरमा जान प्रारम्भिक सम्झौता गरेका थिए ।

आगामी बैशाख २६ गते एकीकृत कारोबार सुरु हुनेभएपछि डाटा माइग्रेशन प्रयोजनका लागि बैशाख २३, २४ र २५ गते दिनका लागि सफ्टवेयर सिस्टम बन्द हुने कम्पनीले जनाएको छ ।