१० श्रावण २०८३, आइतबार

को हुन् लघुबीमा हाँक्न तम्सिएका चार सीईओहरु ? यस्तो छ उनीहरुको विगत



काठमाडौं । लघुबीमा व्यवसाय संचालनका लागि लाइसेन्स भएका चारवटा कम्पनीहरुले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति गरेका छन् ।

नेपाल बीमा प्राधिकरणबाट लघुबीमा व्यवसाय संचालनका लागि अनुमति पाएका गार्डियन माइक्रो लाइफ, क्रेष्ट माईक्रो लाइफ, नेपाल माइक्रो इन्स्इोरेन्स र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले सीईओ नियुक्ति गरिसकेका छन् । यी कम्पनीहरुले व्यवसाय संचालनका लागि आवश्यक पूर्वाधार तयार गरेपछि प्राधिकरणबाट लाईसेन्स पाएका हुन् । यद्यपि, कम्पनीको पूर्वधारको स्थलगत अनुमन समेत भईरहेको छ ।

प्राधिकरणले विशेषगरि न्यून आय भएका तथा सिमान्तकृत समुदायमा बीमाको पहुँच पर्याउने उद्देश्यसहित सातै वटा प्रदेशमा १.१ वटा लघुबीमा बीमा स्थापना गर्न लागेको हो । यस अनुसार कोशी प्रदेशमा गार्डियन माइक्रो लाइफ, मधेशमा स्टार माइक्रो इन्स्योरेन्स, बागमतीमा नेपाल माइक्रो इन्स्योरेन्सले व्यवसाय गर्ने अनुमति पाएका छन् । गण्डकीमा लिवर्टी माइक्रो लाइफ, लुम्बिनीमा ट्रस्ट माइक्रो, कर्णालीमा क्रेष्ट माइक्रो लाइफ र सुदुपश्चिममा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स रहेका छन् ।

लघुबीमा कम्पनीहरुलाई वर्षौंदेखि नेपाली बजारमा राज गर्दै आएका ठूला बीमा कम्पनीसँग नै प्रतिस्पर्धा गर्नुपर्ने छ । जुन उत्तिकै चुनौतीपूर्ण पनि हुने देखिन्छ । त्यो अवस्थामा अब आउन लागेका नयाँ लघुबीमा कम्पनीहरुलाई ठूला बीमा कम्पनीहरुसँग प्रतिस्पर्धा गर्नुपर्ने देखिएको हो । नेपालमा लघुबीमा नौलो अभ्यास हो । त्यस अनुसार यस सम्बन्धी अनुभवी कर्मचारी नै पाइँदैन ।

तर, ठूला कम्पनीको अनुभवले पनि यसमा काम गर्न सकिन्छ भन्ने धेरैको विस्वास छ । सोही अनुसार लघुबीमा कम्पनीमा ठूला बीमा कम्पनीहरुबाट नै कर्मचारी तानिएका छन् । यस्ता थुप्रै चुनौतीका माझ लघुबीमा कम्पनीले नविन व्यवसाय सुरु गर्न खोजिरहेका छन् । यसैबीच गार्डिन माइक्रो लाइफको सीईओ चिरायु भण्डारी, क्रेष्ट माइक्रो लाइफमा प्रतापलाल श्रेष्ठ, नेपाल माइक्रो इन्स्योरेन्सको मृगेन्द्र रिमाल र प्रोटेक्टिभ माइक्रोको नरेश रोक्कालाई सीईओमा नियुक्ति गरिसकेको छ । केही सीईओहरु बीमा क्षेत्रबाट नै छन् । केही बैंकिङ्ग क्षेत्रबाट छन् । यसका कारण लघुुबीमा व्यवसाय गर्न अवसर र चुनौति दुवै रहेको छ ।

को हुन् नयाँ लघुबीमा हाँक्न तम्सिएका चार सीईओहरु ?

चिरायु भण्डारी, सीईओ गार्डियन माइक्रो लाइफ

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चिरायु भण्डारी नियुक्ति भएका छन् ।
भण्डारीलाई गार्डियन माइक्रो लाइफको सीईओ बनाउन नेपाल बीमा प्राधिकरणले स्वीकृत दिइएको हो । भण्डारीलाई कम्पनीको सञ्चालक समिति बैठकले ४ वर्षको लागि नियुक्त गर्ने निर्णय गरेको हो ।

बीमा प्राधिकरणले ७ ओटा माइक्रो इन्स्योरेन्सको लाइसेन्स वितरण गरेपछि सबै प्रक्रिया पु¥याएर गार्डियनले व्यवसाय सञ्चालनको स्वीकृति लिइसकेको हो । कम्पनीको केन्द्रीय कार्यालय विराटनगरमा रहनेछ । नेपाल पुनर्बीमा कम्पनीको पहिलो सीईओ बनेका भण्डारी त्यहाँ चार वर्ष काम गरेर प्राइम लाइफको डेपुटी सीईओ बनेका थिए । बीमा क्षेत्रको ४ दशक अनुभव सँगालेका भण्डारीलाई पहिलो माइक्रो इन्स्योरेन्स हाँक्ने चुनौती थपिएको छ । उनले राष्ट्रिय बीमा संस्थानमा ९ वर्ष, नेशनल लाइफमा २६ वर्ष, नेपाल पुर्नबीमा कम्पनीमा ४ वर्ष र प्राइम लाइफमा साँढे २ वर्ष काम गरेका छन् ।

क्रेष्ट माइक्रो लाइफ, प्रतापलाल श्रेष्ठ

क्रेष्ट माइक्रो लाइफको प्रमुख कार्यकारी अधिकृत ( सीईओ) मा प्रतापमान श्रेष्ठ नियुक्ति भएका छन् । श्रेष्ठसंग बीमा क्षेत्रमा ३४ वर्ष लामो अनुभव छ । श्रेष्ठ यसअघि नेशनल लाइफ इन्स्योरेन्सको नायब प्रमुख कार्यकारी अधिकृत को रुपमा कार्यरत थिए । गत चै २४ गते सो कम्पनीबाट राजिनामा दिएका थिए ।

यद्यपि, उनको जागिरे जीवन नेशनल लाइफबाटै सुरु भएको थियो । श्रेष्ठ जीवन बीमा क्षेत्रमा कुशल र क्षमतावान व्यवस्थापकको रुपमा परिचित छन् । क्रेष्ट माइक्रोको कर्णाली प्रदेशको सुर्खेतमा केन्द्रीय कार्यालय रहेको छ । अब कर्णालीमा पनि बीमा व्यवसाय मार्फत थप पहुँच वृद्धि हुने विश्वास गरिएको छ ।

मृगेन्द्र रिमाल, सीईओ नेपाल माइक्रो इन्स्योरेन्स

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मृगेन्द्र रिमाल नियुक्ति भएका छन् । निकै लामो बैंकिङ्ग अनुभव सम्हालेका रिमाल अब लघुबीमा हाँक्न तम्सिएका हुन् । उनी कृषि विकास बैंकमा लामो समय काम गरेका व्यक्ति हुन् । बागमती प्रदेश अन्तर्गत भरतपुरमा केन्द्रीय कार्यालय रहेको छ । रिमालले बैंकिङ्ग क्षेत्रमा ३० वर्ष बढी समय बिताएका छन् । उनलाई पनि बीमा क्षेत्र नौलो हो । उनको कार्यका आगामी चार वर्षका लागि हुनेछ ।

नरेश रोक्का, सीईओ प्रोटेक्टिभ इन्स्योरेन्स

प्रोटेक्टिभ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नरेश रोक्का नियुक्ति भएका छन् । सुदुरपश्चिमको धनगढीमा केन्द्रीय कार्यालय रहेको यस कम्पनीको सीईओ बनेका रोक्कासंग तीन दशकको बैंकिङ अनुभव छ । उनी कृषि विकास बैंकमा ३० वर्ष लामो समय बिताएका छन् । निर्जीवन बीमा व्यसाय गर्ने यस कम्पनीले आगामी चार वर्षका लागि सीईओ जिम्मेवारी सुम्पिएको हो । बैंकिङ्ग क्षेत्रमा अनुभवी रोक्कालाई बीमा क्षेत्र नौलो हुनेछ ।