१० श्रावण २०८३, आइतबार

आईजीआई प्रुडेन्सियलको नामबाट आजदेखि एकीकृत कारोबार, कस्तो बन्यो सांगठनिक संरचना ?



काठमाडौं । आजदेखि आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले एकीकृत कारोबार सुरु गर्दैछन् ।

यी दुई कम्पनी एक आपसमा मर्ज भई आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नामबाट कारोबार थालनी गर्ने भएको हुन् । गत शुक्रबार अर्थात बैशाख १५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले एकीकृत कारोबारका लागि मिति तय गरेको हो ।

यी दुवै कम्पनीले समान हैसियत अर्थात १ः१ को अनुपातमा मर्जरमा जान लागेको हुन् । यी दुवै कम्पनीबीच गत माघ २७ गते एक आपसमा गाभिन मर्जर सम्झौता भएको थियो ।

नयाँ बन्ने कम्पनीको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत भने आइएमई जनरल इन्स्योरेन्सको तर्फबाट हुने भएका छन् । मर्जपछिको कम्पनीमा हेमराज ढकाल अध्यक्ष बन्ने भएका हुन् ।

कम्पनीको प्रमुुख कार्यकारी अधिकृत (सीईओ) भने योगेश भक्त बाँदे श्रेष्ठ बन्ने छन् । ढकाल र श्रेष्ठ हालको आइएमई जनरल इन्स्योरेन्सको अध्यक्ष र सीईओ नै रहेको छन् । यता प्रुुडेन्सियल इन्स्योरेन्सका हालका प्रमुख कार्यकारी अधिकृत श्रवण रावल भने नयाँ बन्ने कम्पनीको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत रहनेछन् ।

मर्जपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब बढी हुनेछ । जुन निर्जीवन बीमा क्षेत्रकै सर्वाधिक धेरै हो । यी दुवै कम्पनीलाई नेपाल धितोपत्र बोर्डले मर्जरको लागि बैशाख १२ गते अन्तिम स्वीकृति प्रदान गरेका थियो ।